Ads

उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र अस्ट्रेलियाली राजदूतबीच भेट


काठमाडाैं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग बुधबार नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले रक्षा मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्।

सो अवसरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले नेपाल र अस्ट्रेलियाबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै वर्तमान सरकार दुई पक्षीय सम्बन्ध विस्तार गर्न प्रतिबद्ध रहेको र यसका लागि राजदूत भोल्कको विशेष भूमिका रहने धारणा राखेका रक्षा मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

उपप्रधानमन्त्री खड्काले कोभिड–१९ को समयमा अस्ट्रेलिया सरकारबाट प्राप्त खोप एवं अन्य सहयोगका निम्ति धन्यवाद दिँदै अस्ट्रेलियाका विभिन्न शैक्षिक संस्थामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको सुरक्षा एवं संरक्षणका लागि अस्ट्रेलियाली सरकारबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

नेपाली सेना र अस्ट्रेलियाको सेनाबीचको सहयोग आदानप्रदान गर्ने प्रशस्त सम्भावना रहेको औँल्याउँदै उनले दुई देशको सेनाबीच विभिन्न प्रकारका तालिम एवं शैक्षिक कार्यक्रमहरू आदानप्रदान गर्ने कार्य हाल भइरहेको र भविष्यमा पनि निरन्तरता हुने उल्लेख गरे।

भेटमा राजदूत भोल्कले नेपाली विद्यार्थी एवं समुदायप्रति अस्ट्रेलियाका जनताको सद्भाव रहेको र बढ्दै गइरहेको भन्दै नेपाली समुदायका कारण अस्ट्रेलियाको आर्थिक एवं सांस्कृतिक विकासमा योगदान पुगेको धारणा व्यक्त गरिन्। उनले कृषि, उद्योग, व्यवसायलगायतका क्षेत्रमा दुई देशबीच सहयोग आदानप्रदान गर्ने पर्याप्त सम्भावना रहेको बताइन्।

Ads

सम्बन्धित पोष्टहरू