Ads

’बजेट न्यायोचित छैन, यथास्थितिमा बजेट पास हुन्न’: अध्यक्ष यादव


काठमाडौँ । सत्तारुढ गठबन्धनको घटक जनता समाजवादी पार्टीले संसद्मा प्रस्तुत बजेटले धेरै क्षेत्रलाई उपेक्षा गरेकाले त्यसलाई यथास्थितिमा पारित गर्न नसकिने बताए । जसपाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले बजेटमा सुधारको जरुरी रहेको बताएका हुन् ।

’अहिलेको बजेटमा एकलौटी ढंगले गठबन्धनमा रहेका दलसँग छलफल नै नगरी ल्याइएको छ । मधेस लगायतलाई उपेक्षा गरेको छ । यसलाई सुधार गर्नुपर्छ, यथास्थितिमा बजेट पास हुन्न,’ अध्यक्ष यादवले भने, ’बजेट न्यायोचित छैन ।’

उनले समाजवादी मोर्चामा बाबुराम भट्टराईको दललाई नसमेटेको विषयमा पनि टिप्पणी गरेका छन् । भट्टराई एक्लै हिँड्न रुचाउने व्यक्ति भएको यादवको भनाइ थियो । ’बाबुरामलाई हामीले समातेको पनि हैन छोडेको पनि छैन । यो मोर्चामा कहिल्यै देखिनँ’ यादवले भने,’बाबुरामजीको एक्लै हिँड्ने बानी छ । त्यसैले ठिकै जस्तो पनि छ । सबैलाई समेट्ने होइन, समेटिनेलाई समेट्ने हो ।’

मोर्चामा संलग्न रहेका दलहरु एउटै पार्टीको रुपमा नरहेकाले यसलाई मिल्ने मुद्दामा सहकार्यको रुपमा मात्र बुझ्नुपर्ने यादवको धारणा छ ।

Ads

सम्बन्धित पोष्टहरू