Ads

देशव्यापीरूपमा महिला हिंसा नियन्त्रण गर्न सांसदहरूको माग


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशव्यापीरूपमा महिलामाथि हत्या हिंसाका घटनामा वृद्धि भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद प्रतिक्षा तिवारीले गरिबी, कानुनी सचेतनाको अभावका कारण महिला हिंसा बढेको भन्दै काभ्रेपलाञ्चोकमा एक महिलाको हत्या भएको, भोजपुरमा पनि त्यस्तै गरेर महिलाको हत्या भएको बताए  ।

उनले दिनदिनै यस्तै घटना घटिरहेको उल्लेख गर्दै महिला हिंसा नियन्त्रण गर्न र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । सांसद सुशीला थिङले सिन्धुलीको गोलञ्जोरमा आएको बाढी पहिरोका कारण ठूलो क्षति पुगेको भन्दै स्थानीय तीनमाने र भालुखोलामा जोखिममा बढेको बताए । उनले पीडित परिवारलाई राहतको प्रबन्ध गर्न माग गरेका छन् ।

सांसद देवेन्द्र पौडेलले बाग्लुङको ढोरपाटनमा चट्याङका कारण जनधनको क्षति भएको, सवारी दुर्घटनामा पनि त्यस्तै क्षति भएको बताउँदै आकस्मिक घटना र दैविक प्रकोपपीडितलाई राहतको प्रबन्ध गर्न माग गरेका छन् ।

सांसद शिव नेपालीले प्राकृतिक विपत्तिबाट जोगिनका लागि नागरिकलाई नै सचेत बनाउनुपर्ने आवश्यकता बताए । पछिल्लोपटक दाङमा चट्याङका कारण तीन जनाको ज्यान गएको र देशका अन्य स्थानमा पनि नागरिकको ज्यान गएको भन्दै क्षति न्यूनीकरण गर्न  आवश्यक प्रबन्धको माग गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू