Ads

पशुपतिको जलहरी प्रकरण : संसदीय समिति गठन गर्न सांसद पौडेलको माग


काठमाडौं । पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा प्रयोग गरिएको सुनमा भ्रष्टाचार भएको विषयमा छानबिन गर्न सांसदले संसदीय समिति गठन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै कांग्रेस सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् । पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा तोकिएभन्दा कम सुन प्रयोग भएको भनेर महालेखा परीक्षकको कार्यालयले दुई वर्षअघि नै औंल्याएको थियो । त्यस्तै, अख्यितयार दुरुपयोग अनुसन्धान आयोगमा पनि दुई वर्षअघि नै उजुरी परेको थियो ।

अहिले आएर अख्तियारले छानबिन थालेकोमा पनि सांसद पौडेलले प्रश्न गरेका छन्। उनले भने, “महालेखाको प्रतिवेदनमा प्रष्ट आएको विषयलाई अख्तियारले यति ढिलो गरी छानबिन किन गर्‍योरु” जलहरीमा भएको भ्रष्टाचारले सबैको शिर निहुरिएको उनको भनाइ थियो। “एक त भ्रष्टाचार कहिँ पनि हुनुहुँदैन, त्यसमाथि धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिँदा संसारसामु हाम्रो शिर निहुरिएको छ,” पौडेलले भने ।

यसअघि प्रतिनिधि सभामा जलहरीको विषय आउँदा रेकर्डबाट हटाउन लगाएकाले पनि ढाकछोप गर्न खोजेको आरोप लागेको उनको भनाइ थियो । त्यसैले संसद्ले नै समिति गठन गरेर छानबिन गर्नुपर्नेमा उनले जोड दिए । अख्तियारले आइतबार मात्रै पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीको तौैल जोखेको थियो । यस सम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

Ads

सम्बन्धित पोष्टहरू