Ads

आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन’ शीर्षकमा छापिएको समाचारप्रति मन्त्रालयको खण्डन


काठमाडौं, । गृह मन्त्रालयले नेपाली कांग्रेसकी नेतृ आरजु देउवा र नेता कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको बताएको छ।

सोमबार आर्थिक दैनिकमा ’नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन’ शीर्षकमा समाचार छापिएको थियो। उक्त समाचार अन्य केही सञ्चारमाध्यमले पनि छापेका थिए। समाचार सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

समाचार प्रकाशन भएपछि गृहले खण्डन गर्दै त्यसमा सत्यता नभएको बताएको हो।

’उपप्रधानमन्त्री एवम् गृहमन्त्रीज्यूबाट कुनै व्यक्तिलक्षित गरी केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलकल्पित र झुठा भएको व्यहोरा अवगत गराउँछु,’ गृहका सहप्रवक्ता केदारनाथ शर्माले बताएका छन्।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्हालेसँगै सबै मुद्दामा स्वच्छ, निष्पक्ष र दबाबरहित ढङ्गले अनुसन्धान तथा कारबाही अगाडि बढाउन नेपाल प्रहरीलगायतका सुरक्षा निकायलाई निर्देशन दिएको तर व्यक्तिलक्षित निर्देशन नदिइएको सहसचिव शर्माले उल्लेख गरेका छन्।

भ्रष्टाचार र अपराध नियन्त्रणलगायतका अनुसन्धान प्रक्रियालाई दबाबरहित बनाई प्रहरी निकायलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न मन्त्रालयको नेतृत्व तहबाट निरन्तर सहजीकरण र निर्देशन भइरहेको बताइएको छ।

समाचारबारे खण्डन गर्दै मन्त्रालयले पत्रिकालाई पत्र पठाउँदै न्याय निरुपणको क्रममा रहेको विषयका बारेमा कुनै पनि समाचार प्रकाशन गर्दा सम्बन्धित पक्ष वा पदाधिकारीबाट पुष्ट्याई हुने प्रबन्ध मिलाउन संवेदनशील हुन भनेको छ।

Ads

सम्बन्धित पोष्टहरू