Ads

प्रचण्डको अभिव्यक्ति र विकसित राजनीति


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यस पटक भारत भ्रमण गरेर आए देखिनै उनलाई भारत प्रतिको दृष्किोणका कारण विवादमा तानि रहयो । गेरुवष्त्र धारण गरेर महाकालेश्वरको पूजा गरेको बेला देखि होस् वा आफ्नो भ्रमणको उपलव्धि संसदमा सुनाई रहँदा ‘मुर्रा राँगा’को प्रसंग । उनलाई भारतीय संस्थापनसँग अनुचित रुपमा लत्रिएको आरोपले पछ्याई रहयो ।
भारतमा हुँदा गरेका गतिविधि र भ्रमणका उपलव्धि बारेको कुराले मात्रै होईन । आफुलाई प्रधानमन्त्री बनाउन भारतीय नेता र केहि व्यक्तिको भुमिका कस्तो रहयो भन्ने कुरा केहि दिन उनी आँफैले बोले । त्यहि बोली अहिले उनका लागि गलपासो भएको छ ।
प्रचण्ड अभिव्यक्तिको मामिलामा साह्रै लचक मान्छे पनि हुन् । माहोलले मागे अनुसारको अभिव्यक्ति दिने र त्यसको ‘साईड ईफेक्ट’ विकास हुन थाले पछि ‘मेरो बोलिको नियत त्यो होईन, मेरो तात्पर्य बुझिएन, मेरो नियतमा खोट छैन’ भन्ने जस्ता स्पष्टिकरण उनका आउने गरेका छन् ।
के बोलेका थिए ?
गत सोमबार प्रधानमन्त्री एक कार्यक्रममा सहभागी थिए । त्यो थियो, लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’ (द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल ) विमोचन समारोह । सरदार प्रितम सिंहको बारेमा लेखिएको त्यस पुस्तकमा भारतीय संस्थापनका विशिष्ट व्यक्तिहरु पनि थिए । केहि दिन अघि मात्र भारतको भ्रमण सकेर आएका प्रचण्डमा भारतीय प्रशंसाको धङ्धङी हटि सकेको थिएन । भारतीय राजदून नविन श्रीवास्तवलाई पनि सामुन्ने देखे पछि प्रचण्ड भारत र भारतीय प्रशंसामा झनै उत्साहि भए ।

मन्तव्यका क्रममा प्रचण्डले सरदार प्रितम सिंहलाई नेपालमा यातायात क्षेत्रको व्यक्तिहरुमध्ये अग्रणी मानिने मात्र बताएनन् सिंहको रुचि यातायात, सामाजिक सेवा र शिक्षाको क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि भएको बताए । त्यस पछि उनी रोकिएनन्, आफूलाई प्रधानमन्त्री बनाउन पनि सरदार सिंहले दिल्ली र नेपाल कयौँ पटक राजनीतिक दौडधूप गरेको सुनाउन पनि भ्याए । श्रोताहरु तालि बजाउँदै आफ्नो मन्तव्यले उत्साहि भएको भान पाए पछि उनी झनै उत्साही भए ।

उनी भन्दै गए ‘यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुची राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटी दिल्ली जानुपनि भयो काठमाडौँका पार्टीहरुलाई, नेताहरुलाई पार्टीहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभयो । उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ । म शान्ति प्रक्रियामा आएदेखि नै निरन्तर अन्तरक्रिया, सहकार्य हुने ग¥यो ।’ प्रचण्ड यतिमा रोकिएका थिएनन्, अरु पनि भन्दै थिए । उनले यति भनि रहँदा आफ्नो अभिव्यक्तिको प्रभाव र असर के हुन्छ उनले सोच्न भ्याएका थिएनन् ।
प्रतिपक्षीको प्रहार
प्रचण्डको अभिव्यक्तिले भारत, भारतीय नेता वा भारतीय नेतासँग सम्वन्ध भएका व्यक्तिहरुले नेपालको प्रधानमन्त्री समेत चयन गर्न सक्छन् भन्ने भाष्य खडा गरेको भन्दै प्रतिपक्षीले उनको यहि अभिव्यक्तिलाई प्रहार गर्ने योजना बनायो । संघीय संसदका दुवै सदन सञ्चालन भई रहेको अवस्थामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरि संसदमा त्यसको कडा प्रतिवाद गर्ने निर्णय ग¥यो ।

बुधबार एमालेले कडा रुपमा संसदमा यो विषय उठाई रहँदा अन्य प्रतिपक्षीहरुले साथ दिए भने संसद बाहिर सत्ता साझेदारहरुले पनि प्रचण्डको त्यस अभिव्यक्तिको आलोचना गरि रहेका छन् । राष्ट्रिय सभा बैठक शुरु हुन साथ संसदीय दलका नेता देवेन्द्र दाहालले आफ्नो अभिव्यक्तिलेनै प्रचण्डलाई प्रधानमन्त्री हुने नैतिक धरातल नभएको बताउँदै राजिनामा नआए सम्म संसद सञ्चालन हुन नसक्ने बताए भने प्रतिनिधिी सभामा रघुजी पन्तले प्रचण्डको अभिव्यक्त विरुद्ध कडा रुपमा प्रस्तुत् हुँदै प्रचण्डको अभिव्यक्तिले नेपालीको शिर गिरेको बताए । उनले बोले पछि सभामुखले संसद सुचारु गर्ने प्रयास गरे पछि पन्तको अभिव्यक्तिमा अन्य प्रतिपक्षीहरु पनि साथ दिँदै सदनमै उभिए । त्यस पछि सदन चल्न सकेन ।
साझेदारनै छक्क पर्दा प्रचण्डको खण्डन
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिका कारण उनलाई साथ दिई रहेको प्रमुख सत्ता साझेदारकै शिर्ष नेताहरु पनि छक्क परेका छन् । संसद भित्र प्रतिपक्षीहरुले उठाएको एजेण्डामा साथ दिन नमिले पछि संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफुलाई प्रधानमन्त्री बनाउन भारतमा दौडधुप भएको बनाउनुले आश्चर्यचकित बनाएको बताए । शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति गलत र आलोचनायोग्य रहेको भन्दै प्रधानमन्त्रीले संसदको सम्मान गर्नसक्नुपर्ने बताए ।
तीन पटक प्रधानमन्त्री भएका प्रचण्ड पहिलो र तेस्रो पटक एमालेको अग्रसरतामा प्रधानमन्त्री बनेको भन्दै उनले भने, ‘संसदको सम्मान र नेपालको राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने काम प्रधानमन्त्रीले गर्नुपर्छ । प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, त्यो आलोचनाका लागि योग्य छ । उहाँले गलत बोल्नुभएको छ ।’

तर प्रचण्ड र उनको टीम आफ्नै बोली गलपासो भए पनि त्यसको खण्डनमा लागि परेको छ । बोल्दै नबोलेको कुरा उछालिएको र फरक ढंगबाट अपव्याख्या गरिएको भन्दै खण्डनको प्रयासमा जुटे पनि उनलाई पटक पटक विश्वासको मत दिएकाहरु अहिले रोष प्रकट गरि रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुईरदुई पटक विश्वासको मत दिएकामा लाज लागेको बताएका छन् । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रतिनिधिसभामा आफूहरुको मतले प्रधानमन्त्री बनेका प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन कोही व्यक्ति पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिँदा लाज लागेको बताएका हुन् ।
अब के हुन्छ ?
अहिले धेरैलाई प्रश्न छ, अब के हुन्छ ? प्रधानमन्त्रीको राजिनामा माग गरेर संसदबाट बाहिरिदै गर्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री अरु केहि नगरि राजिनामा दिए मात्र संसद चल्ने बताए । उनले माफि होईन, राजिनामा चाहिएको बताए भने संसदमा बोल्ने सांसदहरुले प्रधानमन्त्रीको राजिनामा नआए सम्म बैठक चल्न नसक्ने बताए । तर के यहि विषयले प्रधानमन्त्रीले राजिनामा दिई हाल्लान् त ? त्यस्तो पनि लाग्दैन । किन भने विगतमा पनि प्रचण्डले आफ्ना कतिपय विवादित अभिव्यक्तिलाई आँफैले खण्डन गरि सुधार गरि कोर्ष करेक्सन पनि गरेका छन् । त्यस्तै होला कि यस पटक पनि ।

संसदमा आएर प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति बारे सफाई दिने अवस्थाको सिर्जना सम्म प्रतिपक्षीहरुले गराउन सके भने सत्ता र प्रतिपक्ष दुवैका लागि ‘सर्प पनि मर्ने र लट्ठि पनि नभाँचिने’ अवस्थाको सिर्जना हुन सक्छ । प्रतिपक्षीहरुलाई पनि हामीले ‘माफी मगायौं नि’ भनेर नाक रहने र सत्ता पक्षलाई पनि ‘मामुलि यति सानो कुरामा कसैले राजिनामा दिन्छ’ भन्ने दम्भको बर्को ओढ्न पाईने ।
हुन त, एमाले, रास्वपा, राप्रपा यो एजेण्डामा एक ठाउँमा छन् । उनीहरुको सहकार्य कायम रहयो भने यो एजेण्डामा उनीहरु थप बलियो पनि हुन सक्छन् । तर अंक गणित उनीहरुको पक्षमा छैन । त्यसैले प्रधानमन्त्रीले राजिनामा दिनु वा नदिनु भन्ने विषय प्रतिपक्षी र स्वम् प्रधानमन्त्रीको भन्दा पनि उनलाई साथ दिएको कांग्रेसको निर्णयमा भर पर्ने देखिन्छ ।

 

Ads

सम्बन्धित पोष्टहरू