Ads

जब नेपालका प्रधानमन्त्री विदेशमा ‘बेपत्ता’ भए


‘प्रधानमन्त्री बेपत्ता, रिजाल विदेशमा हराए’

छोरीको लागि गहना किन्न प्रधानमन्त्री सिंगापुरतिर’

काठमाडौँका पत्रपत्रिकामा यस्ता समाचार शीर्षक देखिनु अनौठो कुरा थियो। त्यो पनि पञ्चायतको कठोर सेन्सरका माझ।

तर, नेपालका प्रधानमन्त्रीको एउटा विदेश भ्रमण यति विवादित बनेको थियो कि नेपाली पत्रपत्रिकामा त्यस्ता समाचार छापिन पुगेका थिए।

यो २०३१ पुसको कुरा थियो। जतिबेला नेपालका प्रधानमन्त्री थिए, नगेन्द्रप्रसाद रिजाल। उनको टोलीले त्यो हिँउदमा इरान, पाकिस्तान, बंगलादेश र श्रीलंकाको भ्रमण गर्ने कार्यक्रम थियो।

तर, यो भ्रमण इतिहासमै यति विवादित र लज्जास्पद बन्यो, त्यसलाई अहिले पनि एउटा काण्डका रुपमा स्मरण गर्ने गरिन्छ।

इरान हिँडेको शिष्टमण्डलमा प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल, अर्थमन्त्री भेषबहादुर थापा, परराष्ट्रसचिव जर्नेल पदमबहादुर खत्री, निरञ्जन भट्टराई, जयप्रताप राणा, बालगोपाल केसी, अंगरक्षक मेजर पाण्डे र धच गोतामेलगायत थिए। भ्रमण दलमा परराष्ट्रमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भने थिएनन्।

त्रिभुवन विमानस्थलबाट बिहान विमान उड्यो र थाइल्यान्डको ब्यांककमा अवतरण भयो। दिनभर टोली त्यहाँ आराम गरेर साँझ तेहरानका लागि उड्ने तय थियो।

तर, ब्यांककस्थित नेपाली दूतावास पुगेपछि प्रधानमन्त्री रिजालले थाहा पाए, इरानले भ्रमण केही दिनलाई स्थगित गर्न पत्राचार गरिसकेको रहेछ। तत्काल भ्रमण भए स्वागत गर्न नसक्ने व्यहोरा पत्रमा उल्लेख थियो। कतिपयले भने यो खबर विमानभित्रै फैलिएको पनि बताएका छन्।

तर, भ्रमण टोलीमा प्रधानमन्त्रीको प्रेस सचिवका रुपमा संलग्न ध.च. गोतामेका अनुसार यो खबर रिजालले ब्यांककस्थित नेपाली दूतावासमा पुगेर मात्र थाहा पाएका थिए। भ्रमण टोली विमानस्थलमा हुँदै यो खबर आए पनि सम्बन्धित अधिकारीले प्रधानमन्त्रीलाई जानकारी नदिएको उनको भनाइ छ।

गोतामेले आफ्नो संस्मरणात्मक कृति कालान्तरमा उल्लेख गरेअनुसार विमानस्थलमा विदाई कार्यक्रम चलिरहँदा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल उपेन्द्रबहादुर बस्नेतको घरबाट फोन आएको थियो। तर, उनले भ्रमण स्थगित गर्न इरानले आग्रह गरेको खबर दिने पत्नीलाई गाली समेत गरेका थिए, ‘चुप लाग् बेकुफ आइमाई? यस्ता कुरा फोनबाट भन्ने हो? कसैले सुन्यो भने मेरो जागिर हिँड्छ। यस्तोमा थाहै नपाएझैँ गर्नुपर्छ।’

त्यो भ्रमण यसकारणले महत्वपूर्ण थियो कि नेपालले इरानसँग सोझै तेल किन्ने सम्झौता गर्न खोजेको थियो। कारण थियो भारत। जतिबेला सम्बन्ध चिसिन्थ्यो, त्यतिबेला भारत नेपालतर्फको इन्धन आपूर्तिलाई कम गर्न थाल्थ्यो। त्यसैले इरानसँग सिधै पेट्रोल किन्ने मनसायले रिजालले यो भ्रमण गर्न लागेका थिए।

ब्यांककमा अलपत्र
ब्यांककमा अलपत्र परेपछि प्रधानमन्त्री रिजाल चिन्ताले व्याकुल हुन थाले। इरानले ठूलो बेइज्जती गरिसकेको थियो। या त लोतेकान लगाएर काठमाडौँ फर्किनुपर्थ्यो। या पाकिस्तानको भ्रमणको चाँजो मिलाउनुपर्थ्यो।

गोतामेका अनुसार रिजालले परराष्ट्रसचिव जर्नेल खत्रीलाई सोधे– ‘जर्साब! अब के गर्ने त?’

‘म त ह्विस्की खाने, अरु जेजे गर्छन् गरुन्,’ खत्रीले जवाफ दिए।

‘यति भनेर जर्नेल पदमबहादुर सिंगै सिसी सेवास रिगल र सोडा लिएर पिउन थाले। भेषबहादुर (अर्थमन्त्री) स्विमिङ पुलमा पौडी खेल्न स्विमिङ ट्रंक बोकेर हिँडे। हामी लन्च खाने तयारीमा लाग्यौँ। परराष्ट्र मन्त्रालयका मानिसको चालचलन देखेर प्रधानमन्त्री झन् दुखित थिए। यत्रो ठूलो घटनाबारे पनि कोही गम्भीरतापूर्वक चिन्तन गर्न तयार थिएनन्,’ गोतामे लेख्छन्।

केही पेग ह्विस्की खाइसकेपछि जर्नेल पदमबहादुरले थाइल्यान्डका लागि तत्कालीन राजदूत अजुर्नबहादुर सिंहलाई फोनमा प्रधानसेनापतिका माध्यमबाट राजाका सामु बिन्ती गर्न आग्रह गरे।

‘प्रधानमन्त्रीज्यूले निकै सूर्ता लिनुभएजस्तो छ। परराष्ट्र मामिलामा यस्ता घटना दुर्घटना आइ नै रहन्छन्। धैर्यसाथ सामना गर्नुपर्छ। आत्तिएर केही हुँदैन,’ गोतामेका अनुसार खत्रीको भनाइ थियो, ‘अहिलेको घटनाको निराकरण नं १– सरकारबाट हुकुमबक्स नभई हामीले कतै हलचल गर्नुहुन्न। नं २– जानु भन्ने हुकुम भएमा पहिले पाकिस्तानको भ्रमणमा जाने।’

कर्मचारीहरुको ध्यान चाहिँ ब्यांकक डुल्ने र किनमेल गर्नेमा भएको र जर्नेल पदमबहादुरले अनुमति दिएपछि सबै बजारतिर निस्केको गोतामेले उल्लेख गरेका छन्।

तर, समस्या त्यति मात्र थिएन। प्रधानमन्त्रीको टोलीले राजासँग सम्पर्क गर्नै सकेन। दिनभर प्रयास गर्दा पनि।

परराष्ट्रमन्त्री ज्ञानेन्द्रबहादुर कार्की काठमाडौँमै थिए। प्रधानमन्त्रीले राजासँग सम्पर्क गराइमाग्न गुहार्दा कार्कीको जवाफ थियो, ‘सरकार राजधानीबाहिर सवारी भएको छ। सवारी हाल कहाँ छ म त्यो समेत भन्न सक्दिनँ। अतः राजासित सम्पर्क साँध्नु मेरो बुताभन्दा बाहिरको कुरा हो। यसका लागि जंगीतर्फ नै प्रयास गरिरहनु् उचित होल।’

यसबाट पनि स्पष्ट हुन्छ, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच सब ठिकठाक थिएन। सायद त्यसैले नै उनी सो भ्रमणदलमा थिएनन्।

राजा भने त्यतिबेला चितवनको दियालो बंगलामा थिए। जहाँ राजपरिवारको भेला थियो। त्यहाँसम्म तत्काल पुग्न सक्ने कोही थिएन।

बल्लबल्ल यो खबर राजाकहाँ पुग्यो। उनले जसरी हुन्छ मिलाएर भ्रमण सकेर आउन आदेश दिए।

त्यसपछि नेपाली टोली पाकिस्तानको भ्रमणमा जानेभयो। नेपाली दूतावासले त्यसको पहल गर्‍यो। पाकिस्तान नेपाली प्रधानमन्त्रीलाई निर्धारित समयभन्दा केही पहिले नै स्वागत गर्न तयार भयो। तर, प्रधानमन्त्री जुल्फिकर भुट्टो कराँचीमा थिएनन्। उनलाई भेट्न अन्यत्रै धाएर जानुपर्ने भयो। ठूलो बेइज्जती भोगिसकेका प्रधानमन्त्री रिजाल त्यति सम्झौता गर्न तयार भए। र, नेपाली टोली पाकिस्तान पुग्यो।

नेपालका राजाहरुजस्तै पाकिस्तानी प्रधानमन्त्री भुट्टो बेलाबखत आफ्नो मन्त्रिमण्डलसहित राजधानीबाहिरका क्षेत्रमा गएर बस्ने गर्थे। त्यसैले यसपटक नेपाली टोली उनलाई भेट्न पाकिस्तानको हैदरावाद पुग्नुपर्‍यो।

त्यति मात्र होइन, इरान भ्रमणको प्रतीक्षामा उनले थप दुई दिन पाकिस्तानमै गुजार्नुपर्‍यो।

रिजाल पाकिस्तानमा पुगेपछि उनीबारे नेपाली छापामा अनेक अड्कलबाजीयुक्त खबर छापिएका थिए। उसो त यो समाचारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि ठाउँ पाएको थियो। इरानले नेपालको ठूलो कूटनीतिक अपमान गरेको विश्लेषण गरिएको थियो। किनभने त्यतिबेला इरान शक्तिशाली र अति सम्पन्न मुलुक मानिन्थ्यो।

इरान भ्रमण
पाकिस्तानको भ्रमणपछि प्रधानमन्त्री रिजाल इरान जाने भए। रिजालको उडानभन्दा दुई दिनअघि नै उनले परराष्ट्रका तीन जना अधिकारीहरुलाई तेहरान पठाएका थिए। राति उनीहरुको उडान थियो।

तर, ती अधिकारीहरुले होटलमै जाँड धोकेर यति टुन्न भए कि तिनले उडान छुटाए र उज्यालो भइसकेपछि मात्रै यो खबर प्रधानमन्त्री रिजालले थाहा पाए। तथापि, ती अधिकारीहरुको साइनो दरबारसम्म जोडिएको हुनाले रिजालले केही भनेनन्। जनवरी पहिलो साता सबै सँगै तेहरान पुगे।

जहाँ उनले प्रधानमन्त्री अब्बास होविदासँग भेटवार्ता गरे। तर, इरानका राजालाई भने रिजालले भेट्न पाएनन्। तेल किन्ने कुरा पनि अघि बढेन। किनभने इरानी राजा जोर्डन भ्रमणमा गएका थिए। शाहसँग भेट्न नपाए पनि यो भ्रमणमा रिजालले केही उपलब्धि भने हात पारे। आर्थिक क्षेत्रमा केही सम्झौता भयो। र सबैभन्दा ठूलो कुरा इरानमा नेपाली दूतावास खोल्ने सहमति पनि भयो। तर, त्यसरी खोलिएको दूतावास १९७९ को क्रान्तिपछि १९८१ मा बन्द गरियो।

दोष कसको?
यो सबै हुनुको दोष कसको थियो त? कतिपयले भारतको षड्यन्त्रलाई जिम्मेवार ठहर्‍याए पनि खास दोष प्रधानमन्त्री रिजालको कमजोरीकै देखिन्छ। किनभने उनले आफ्नै परराष्ट्रमन्त्रीसँग पनि राम्रो सम्बन्ध राख्न सकेका थिएनन्।

सोही भ्रमणदलमा रहेका तत्कालीन अर्थमन्त्री भेषबहादुर थापाले पनि यसको संकेत गरेका छन्। उनले नगेन्द्रप्रसाद रिजाल व्यक्तित्व र कृतित्वमा ‘आन्तरिक समस्याको सही सुझबुझ तर बाह्य जगतसँगको सम्बन्धमा अनुभवको कमी रहेको’ उल्लेख गरेका छन्।

प्रधानमन्त्री रिजालले भने यो घटनाको सम्पूर्ण दोष दिल्लीस्थित भारतका लागि नेपाली राजदूत कृष्णबम मल्ललाई दिए।

‘भोजभतेरबाट फर्किंदा मूलद्वारको दरबानले इरानी दूतावासबाट पठाइएको एउटा खाम दिएछ। उनले त्यसबखत खाम खोतल्ने र भित्रको संवाद पढ्ने चेष्टा गरेको भए हामीले अरण्य रोदन गर्दै दुईतीन दिन ब्यांकक बस्नुपर्ने थिएन,’ कालान्तरमा गोतामे लेख्छन्, ‘तर, त्यो पत्र त उनले बिहानीपख फुर्सतसाथ खोलेर ‘लौ मार्‍यो’ भन्दै शिष्टाचार महापाललाई फोन गरे।’

त्यसपछि कार्यकाल नपुगी राजदूत मल्ललाई पदबाट हटाइएको थियो भने भारत र खाडी देश हेर्ने परराष्ट्र मन्त्रालयका सहसचिव माधवकुमार रिमाललाई जगेडमा फ्याँकिएको गोतामेले उल्लेख गरेका छन्।

नेपालको कूटनीतिक कमजोरी कति थियो भन्ने कुरा प्रधानमन्त्री रिजालको श्रीलंका र बंगलादेश भ्रमण रद्द हुनुले पनि देखाउँछ। तिथिमितिमा फेरबदल भएपछि दुवै मुलुकले भ्रमण स्थगन गरिदिए। रिजाल टाउको निहुर्‍याएर काठमाडौँ फर्किए।

गोतामेका अनुसार यो घटनाक्रमले काठमाडौँमा भने एउटा मजाकलाई जन्म दियोः ‘श्रीलंका र बंगलादेशका प्रधानमन्त्रीहरुको आयु लामो रहेछ। रिजालजीले तीसँग पनि हात मिलाएका भए ती फाँसी चढ्थे वा तातो गोली खान्थे।’

संयोग पनि त्यस्तै। सो भ्रमणमा रिजालले भनेका पाकिस्तानका भुट्टोलाई उनैले जर्नेल बनाएका याहया खानले सत्ता पल्टाएर कैदी बनाए। र, १९७९ मा फाँसी दिए।

दुई वर्षअघि नै पदबाट हटिसकेका इरानका तत्कालीन प्रधानमन्त्री होविदालाई पनि १९७९ मै मृत्युदण्ड दिइयो।

Ads

सम्बन्धित पोष्टहरू