Ads

नेपालीपन जोगाउन नेपाली मेला


काठमाडौ \ नेपाली समुदायबीच संयुक्त अधिराज्य बेलायतमा  नेपाली मेला २०२३ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

तमुधि युकेले लण्डनस्थित क्याम्पटन पार्कमा आयोजना गरेको नेपाली मेलाको मुख्य आकर्षण एम्बेसडर कप किराँत राई यायोक्खा युकेले हात पारेको छ । यसैगरी घान्द्रुक समाज युके, दोस्रो र पासा पुच गुठी युके तेस्रो भएका छन् ।

विजेतालाई एक हजार १०० पाउन्ड, दोस्रोलाई ७०० पाउन्ड र तेस्रोलाई ५०० पाउण्डसहित मेडल प्रदान गरिएको थियो । नेपाली मेलाको झाँकीतर्फ पनि किराँत राई यायोख्खा युके प्रथम बन्न सफल भएको छ । यसैगरी, पासा पुच गुठी युके दोस्रो र घान्द्रुक समाज युके तेस्रो भएको छ ।

झाँकीतर्फ प्रथम हुनेले ५००, दोस्रोले ३०० र तेस्रो स्थानले २०० पाउण्ड हात पारेका छन् । यसैगरी नृत्यतर्फ घान्द्रुक समाज युके प्रथम र किरात राई यायोक्खा दोस्रो भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले कला संस्कृति र भेषभुषाको प्रवर्धन गर्दै आपसी सहभाव र सहकार्य बढाउन नेपाली मेलाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए ।

नेपाली राजदूतावास लण्डनको सहकार्यमा सम्पन्न कार्यक्रममा २९ वटा सङ्घसंस्थाले आ–आफ्नो संस्कृतिमा आधारित झाँकी र १२ वटा समूहले सांस्कृतिक कार्यक्रममा भाग लिएका थिए । मेलामा विभिन्न व्यावसायिक, खुद्रा पसल,च्यारिटीलगायतका स्टल राखिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू