Ads

अरुण डाँडा आकर्षक पर्यटकीय गन्तव्य


भोजपुर\ भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ ।

गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो । मानिसले घुमघामसँगै सहरी जीवनको व्यस्तताको थकान मेटाउनका लागि यो ठाउँलाई रोज्ने गरेका छन् ।

गाउँपालिका र कोशी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरिएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढेको हो ।

अरुण डाँडालाई गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर यहाँका विकास भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताएका छन् । यसले गाउँपालिकाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । उनका अनुसारअरुण डाँडालाई बृहत्तर विकास गर्न ८० रोपनी क्षेत्रमा यसको विस्तार गर्ने लक्ष्य छ ।

अरुण डाँडा क्षेत्रलाई पर्यटकीय क्षेत्रको विकासको लागि सडक विस्तारसँगै पैदलमार्ग तथा विश्रामस्थल निर्माण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । यहाँबाट विभिन्न हिमशृङ्खलाको सुन्दर दृश्य, समथर फाँटको अवलोकनसँगै पूजाआजा गर्नका लागि पर्यटक आउने गरेका छन् ।अरुण डाँडाको विकासको लागि योजनाबद्ध रुपमा काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जनाए । यो ठाउँको थप प्रचारप्रसारको लागि विभिन्न समयमा गाउँपालिकाले मेला महोत्सवसमेत लगाउँदै आएको उनको भनाइ छ ।

सदरमुकामबाट नजिकको दूरीमा पर्ने भएको अरुण डाँडा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । त्यस्तै भोजपुर–लेगुवा मध्य पहाडी लोकमार्गबाट नजिक रहेकाले पनि पर्यटकको आवतजावतमा सहजता रहेको छ । वडा नं १ श्यामशिलामा पर्ने यो स्थानमा पर्यटकलाई लक्षित गरेर किवी खेतीकोसमेत विस्तार भइरहेको उनको भनाइ छ । समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको अरुण डाँडालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा लिइने गरिन्छ ।

Ads

सम्बन्धित पोष्टहरू