Ads

कानूनीसँगै राजनीतिक प्रश्न


काठमाडौ\ भिडियो शेयर गर्ने लोकप्रिय सामाजिक सञ्जाल टिकटक माथि नेपाल सरकारले प्रतिवन्धको निर्णयसँगै यसले कानूनी र राजनीतिक प्रश्न उठाएको छ । प्रधानमन्त्रीले राजनीतिक दलहरुसँग छलफल गरेरै यसमा प्रतिवन्ध गरिएको दावि गरे पनि प्रमुख सत्ता साझेदार दलका नेताहरुलेनै आपत्ती जनाएका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले अध्ययन अनुसन्धान बिना टिकटक बन्द गरेर गैरजिम्मेवारी चरित्र प्रस्तुत गरेको बताए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित कुराकानी गर्दै नेता कोइरालाले टिकटक बन्द नगरी नियमन गर्नुपर्नेमा जोड पनि दिए । अमेरिकासहित विश्वका अन्य मुलुकले कार्यालय समयमा टिकटक बन्द गरेको उदाहरण दिँदै कोइरालाले सरकार झनझन गैरजिम्मेवार बन्दै गएको आरोप लगाए । त्यसो त यस अघि समेत कांग्रेसकै अन्य नेताहरुले पनि टिकटक प्रतिवन्धको विरोध गर्दै आएका छन् ।

विप्लवको चेतावनी
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको मुख थुनेर सत्ता नटिक्ने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सरकारले टिकटक प्रतिबन्ध लगाएको विषयबारे उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिए।

उनले सामाजिक सञ्जालको प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको उल्लेख गरे। उनले सत्ता जनताको मुख बन्द गरेर नभइ जनताको मन जितेर मात्रै टिक्ने बताए। उनले जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरुको चाँडै अन्त्य हुने बताए।

सर्वोच्चमा रिटको चाङ्
नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन्।

मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध दायर गरिएको रिट निवदेन दायर गरिएको हो। रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ।

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध १० वटा रिट निवेदन परेका छन् भने उक्त विवादको सुनुवाइ यही मङ्सिर ४ गतेका लागि तय गरिएको छ।

सरकारको उक्त निर्णयपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएपछि उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेका हुन्।

Ads

सम्बन्धित पोष्टहरू