Ads

एउटा पुल बनाउन १२ वर्ष ?


स्याङ्जा\ सुन्दा पनि लाजै मर्दो, एउटा सामान्य पुल बनाउन १२ वर्ष लागेको छ । यसले पनि नेपालमा निर्माण क्षेत्रमा हुने गरेको ढिला सुस्तिको प्रतिविम्ब देखाएको छ ।

गण्डकी प्रदेशको चापाकोट–९, निर्दिम र लुम्बिनी प्रदेशको रामपुर–६, भुजात जोड्ने कालीगण्डकीको पुल बन्न १२ वर्ष लागेको हो । चीन र भारतसँग सीधा सम्पर्क जोड्ने कालीगण्डकी ट्रस ब्रिज निर्माण थालेको १२ वर्षमा सम्पन्न भएको हो। पुलको निर्माणसँगै ज्याग्दी खोला कोरिडोर हुँदै आँधीखोला कोरिडोर, पर्वत, मुक्तिनाथ हुँदै चीन र भारत आउन जान सक्ने अवस्था बनेको छ ।

२०६८ साल असार २६ गते कन्काईर मिलिनियमर नेपाल प्रगति जेभीले निर्दिमघाट पुल निर्माणको सम्झौता गरेको थियो । सडक डिभिजन कार्यालय पाल्पाबाट तीन वर्षमा काम सक्ने गरी निर्माण कम्पनीले काम थालेकोमा छ पटक म्याद थपेर सम्पन्न भएको हो । तीन स्पानको १५० मिटर लामो निर्दिमघाट पुल निर्माण कम्पनीले १२ करोड ४८ लाख रुपियाँमा सम्झौता गरेको थियो ।

सम्झौता गरेर काम थालेको निर्माण कम्पनीले पुलको दुई छेउका पिल्लर बनाएर बिचको पिल्लर बनाउने क्रममा समस्या देखिएको थियो । सडक डिभिजनसँग वेल फाउन्डेसन डिजाइनमा काम अगाडि बढेकोमा बिचका दुई पिल्लरको वेल १५र१५ मिटर जमिनमुनि दब्नुपर्नेमा पाँच मिटरभन्दा तल चट्टान भेटिएपछि निर्माण थालेको छ महिनापश्चात काम गर्ने प्रक्रिया रोकिएको थियो ।

पुल सम्झौताको साढे सात वर्षमा २०७६ साल फागुन १५ गते गोरखापत्रमा डिजाइनको त्रुटिबाट मोटरेबल पुल अलपत्रको समाचार प्रकाशन भएपछि पुल महाशाखाले पुनः डिजाइन गरेको थियो ।

समाचार प्रकाशनको एक वर्षपश्चात डिजाइन परिवर्तन भएको थियो भने २०७८ सालबाट निर्माण व्यवसायीले काम थालेका थिए । पुल महाशाखाले वेल फाउन्डेसनको सट्टामा पाइल फाउन्डेसनमा निर्माण गर्ने गरी डिजाइन गरेपछि निर्माणको कामले पूर्णता पाएको हो ।

निर्माण व्यवसायी यामबहादुर श्रेष्ठले सम्झौता अनुसार नौ वर्ष पहिला पुल निर्माण सकेर सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा डिजाइनले आफूहरूले काम गर्न नसकेको र डिजाइन नयाँ बनेसँगै पुल हस्तान्तरणको अवस्थामा पुगेको बताएका छन् ।

उहाँले डिजाइनमा त्रुटि भएको समयमै जानकारी दिए पनि परिवर्तन नहुँदा पाँच करोड रुपियाँ क्षति भएको र पैत्रिक सम्पत्ति बेचेर पुल निर्माण गर्नु परेको दाबी समेत गरेका छन्। निर्माण कम्पनीले साढे आठ करोड रुपियाँ पाउन बाँकी रहेको बताएको छ । सडक डिभिजन कार्यालयका प्रमुख बाबुराम सापकोटाले पुल निर्माणको मुख्य काम सकिएको र सानातिना काम केही बाँकी रहेको बताउँदै बजेट अभावले रकम भुक्तानी गर्न नसकिएको बताउनुभयो । निर्दिमघाटसँगै सम्झौता भएको चापाकोट–८ र रामपुर–६, पाल्पा जोड्ने दामाचौर पुलको काम अझै ४० प्रतिशत बाँकी रहेको छ ।

एमएस–इलाइट–एसबिए जेभी कपन काठमाडौँले दामाचौर पुल भ्याटबाहेक १५ करोड ६८ लाख १३ हजार २६६ रुपियाँमा निर्माणको जिम्मा लिएको थियो । इलाइटले १८१ दशमलब ६९ मिटर लम्बाइ रहेको पुलमा ६०\६० मिटरका तीन स्पानमा पिल्लर राख्ने गरी काम थालेको थियो । दामाचौरसमेत बिचको पिल्लर बनाउने बेलामा वेल नदबेपछि काम रोकिएको थियो । डिजाइन परिवर्तनसँगै सबै पिल्लर निर्माण भएको र अब अन्तिम ढलान बाँकी तथा पुलमाथिको फलाम हाल्ने काम बाँकी छ ।

Ads

सम्बन्धित पोष्टहरू