Ads

गठबन्धनका छेस्काले अड्याएको प्रचण्ड सरकार हल्लिरहेको छ, आफैँ ढल्नसक्छ : ओली


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार केही समयमा आफैं ढल्ने दाबी गरेका छन् ।

समृद्धिका लागि संकल्प यात्राअन्तर्गत डडेलधुरामा शुक्रबार आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले प्रचण्ड सरकार गठबन्धनको छेस्का अड्याएको भएर आफैं ढल्ने दाबी गरे ।

“हामीले अहिले मिसन ०८४ भनेका छौँ । यदि बीचमा यो सरकार…म किन भनिरहेको छु भने यो सरकार कसैले ढाल्नुपर्दैन । सरकार हल्लिरहेको छ । चर्‍याक मर्‍याक, चर्‍याक मर्‍याक भइरहेको छ । तर, हामी पश्चिमबाट पूर्वसम्मको तीन हप्ताको अभियानमा लागेका छौँ,” ओलीले भने ।

उनले सरकार कुनै समय आफैँ ढल्न सक्ने बताए ।  “यो सरकार आफैँ ढल्न सक्छ कुनै समय । यो कुनै खुट्टा भएको सरकार नै होइन । गठबन्धनको छेस्काहरूले अड्याएको हो,” ओलीले जिकिर गरे ।

सरकारसँग कुनै सिद्धान्त, कार्यक्रम नरहेको ओलीको भनाइ छ । कांग्रेस प्रचण्डपथको भरिया बनेको आरोप ओलीले लगाए ।

“यसको कुनै सिद्धान्त, नीति, योजना छैन । कुनै कार्यक्रम छैन । मोटामोटीमा भन्ने हो भने यो सरकार माओवादीको नीतिमा प्रचण्डपथमा हिँड्न खोजिरहेको छ । सकेको छैन । नेपाली कांग्रेस प्रचण्डपथको भरिया बनेर हिँडिराखेको छ,” उनले भने ।

 

Ads

सम्बन्धित पोष्टहरू