Ads

पुस्तान्तरण नहुँदा परम्परागत पेशा संकटमा


उर्लाबारी\ स्थानीय स्तरमा रोजगारी प्रदान गर्ने र नेपाली मौलिकता समेत जोगाउने परम्परागत पेशाहरु संकटमा परेका छन् ।
एक पुस्ताबाट अर्को पुस्तामा शिप र ज्ञान हस्तान्तरण नहुँदा यस्ता पेशा संकटमा पर्दै गएका छन् । परम्परागत रुपमा उत्पादन हुने भन्दा आयातित सोहि प्रकारका बस्तु सस्तो हुने हुँदा नयाँ पुस्ताले यस्ता पेशा प्रति रुची देखाएको पाईँदैन ।
कतिपय पेशामा भने आवश्यक कच्चा पदार्थ र अन्य वस्तुको पनि अभाव देखिने गरेको छ । आगोको रापसँगै फलाम पिटेर विभिन्न औजारहरु निर्माण गर्ने आरन व्यवसायीको पेशा हिजोआज संकटमा पर्न थालेको छ । व्यवसाय संञ्चालनका लागि आवश्यक सामग्री कोइला नपाउनाले पेशा संकटमा परेको हो ।

पाका पुस्ताहरूले अंगालेको आरन पेशालाई आधुनिकीकरण गर्न नसक्दा युवा पुस्ताले चासो दिएका छैनन् । त्यसैले पुस्ता हस्तान्तरण हुन नसक्दा परम्परागत पेशा नै लोप हुने संम्भावन बढेको छ । त्यसो त आगोको लप्काले फलाम पिटेर आरनवाट बिभिन्न औजारहरु बनाउने पेशा गाउँ घरमा कायमै छ ।

मेसिनबाट निर्मित आयातीत औजारहरुले प्रभाव जमाउनुअघि गाउँघरमा आवश्यक पर्ने घरायाशी औजारहरु यिनै आरनबाट बन्ने गर्दथे । हाल आरन र आरनमा काम गर्ने मानिस दुवै घट्दै गएका छन् । आरनबाट औजार बनाउने प्रविधिमा समयानुकुल सुधार हुन नसक्नु यसको मुख्य कारण मानिएको छ । यसबाट गुजारा चलाउन गाह्रो भएकै कारण यो पेशा संकटमा परेको आरन व्यावसायीहरु बताउँछन् । ज्याला कम आउने तर धेरै मेहनत पर्ने भएकोले युवा पुस्ताले परम्परागत आरन पेशा अपनाउन नचाहने गरेको उनीहरूको भनाइ छ । आरन नहुँदा परम्परागत घरायसी तथा कृषि औजारहरु मर्मत गर्न समेत समस्या हुने गरेको स्थानीयहरू बताउँछन् ।

अहिले पनि ग्रामीण क्षेत्रमा अधिक प्रयोग हुने कुटो, कोदालो, हँसिया, खुकुरी लगाएर कृषि औजारहरु आरनबाटै बन्ने गर्छन् । यी औजारहरुको माग अहिले पनि बजारमा धेरै नै छ । आरनबाट औजार बनाउने प्रविधिमा सुधार गरी यो पेशालाई प्रोत्साहित गर्न सके स्थानीय स्तरमा रोजगार सृजना गर्न यो व्यवसाय पनि एउटा राम्रो माध्यम हुनसक्ने स्थानीयहरूको भनाइ छ ।

कोइला अभावका कारण मोरङका आरन पेशा संञ्चालनमा संकट देखिएको छ । कच्चा पदार्थको अभावमा पुख्र्यौली पेशा संकटमा पर्न थालेका हुन् । एक दशक अघिसम्म आरनमा घरेलु तथा कृषि उपकरण बनाउनेको भीड हुने गर्दथ्यो । तर, हिजोआज कोइलाको अभावका कारण यहाँका व्यवसायीहरुले आरन चलाउन सक्ने अवस्थामा छैनन् । ग्रामथान गाउँ पालिकाका वडा नं ३ का आरन व्यवसायी राजकुमार विश्वकर्मा कोइलाको अभावका कारण आफ्नो पेशा संकटमा पर्न थालेकोमा चिन्तित छन् । पछिल्लो समय भने कोइला खरिद गर्नसमेत पाइन छाडेपछि उनको चिन्ता झनै बढेको छ ।

परापूर्वकालदेखि दलित समुदायले अंगालेको आरन पेशा पछिल्लो समय विस्थापित हुदै गएको छ । कृषि पेशाका लागि आवश्यक पर्ने कृषि औजार हसिया, कुटो कोदालो, बन्चरो र हलो लगायतका घरेलु उपकरणको प्रयोग पछिल्लो समय घट्दै गएका छ भने जीवन निर्वाहसमेत हुन नसक्ने अवस्थाले धेरैले पेशा परिवर्तन गरेका छन् । चलेका केही आरन व्यवसाय पनि कोइला अभावले विस्थापित हुनुपर्ने अवस्थामा पुगेको छ ।
ग्रामथान गाउँ पालिका वडा नं २का हस्त बराइली पनि कोइला पाउन छाडेपछि आफ्नो पेशा नै संकटमा परेको बताउँछन् । आरन पेशाबाट परिवार चलेको बताउँदै उनले कोइलाको सहज आपूर्तिका लागि सरकारसँग माग गर्दछन् । केही दशकअघिसम्म दाउराको प्रयोग बढी हुनाले कोइलाको समस्या थिएन । पछिल्ला बर्षहरुमा ग्याँस तथा अन्य विद्युतीय सामाग्रीको प्रयोग बढेकाले समस्या भएको आरन पेशामा आवद्ध व्यवसायीहरुको समस्या सरकारले नदेखेको उनीहरुको गुनासो छ ।

Ads

सम्बन्धित पोष्टहरू