Ads

बिस्थापितहरु ३ वर्ष देखि जंगलको टहरोमा, शितलहरमा थप कष्ट भोग्दै


धनगढी, तीन वर्ष अघि विस्थापित कैलालीको चुरे गाउँपालिकाका बाढी, पहिरो पिडीतहरुको अभैm दिगो व्यवस्थापन हुन सकेको छैन । जसका कारण उनीहरु हरेक वर्षको वर्षायाम र हिउँदयाममा कष्टकर जीवन विताउन बाध्य हुने गरेका छन् ।

विस्थापित केही परिवारका सदस्य आफन्तको घरमा बसे पनि धेरैजसो जङ्गलमा टहरा बनाएर बस्न बाध्य भएको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटी बताउँछन् । उनका अनुसार सुरुमा ५१८ परिवार विस्थापित भएका थिए । जसमध्ये १२० परिवारको केही पनि बचेको छैन । नम्बरी जग्गा भएका ती परिवारले घरखेत गुमाएका छन् ।

सो गाउँपालिकाको वडा –४, ५ र ६ को विभिन्न गाउँका स्थानीय बाढी, पहिरोको कारण विस्थापित भएका छन् । पुनःस्थापनाको पर्खाइमा रहेका ती परिवार टहरामुनि चिसोरात काट्दैआएका छन् ।

गाउँपालिकाले उनीहरुको पुनःस्थापनाका लागि सरोकारवाला निकायमा पहल गरिरहेको जनाएको छ । सम्भवतः दुई महिनाभित्र उनीहरुको पुनःस्थापना गर्नेगरी प्रक्रिया अगाडि बढाइएको अध्यक्ष बोगटीले बताए ।उनीहरुलाई घरजग्गाका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत रकम उपलब्ध गराउने गरी व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको छ । कार्यविधि बनिसकेको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।

नम्बरी जग्गा गुमाएका प्रतिपरिवारलाई घर बनाउने जग्गा खरिदका लागि तीन लाख रुपियाँ र घर बनाउनका लागि चार लाखगरी सात लाख रुपियाँ उपलब्ध गराइने जनाइएको छ । अध्यक्ष बोगटीका अनुसार पहिरो तथा बाढी विस्थापितका लागि सङ्घले ६० प्रतिशत, प्रदेशले ३० र सम्बन्धित स्थानीय तहले १० प्रतिशत रकम जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्नेगरी कार्यविधि बनेको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू