Ads

लुम्बिनीमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता


काठमाडाैँ । नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा मनोनयन दर्ता गराएको छ ।

निर्वाचन अधिकृतको कार्यालय घोराही, दाङ पुगेर एमालेका झपेन्द्र घर्ती र तुलसाकुमारी केसीले मनोनयन दर्ता गराएका हुन् ।

घर्तीले अन्यतर्फ र केसीले महिलातर्फ उम्मेदवारी दर्ता गराएका हुन् । प्रस्तावक गिरिधारीलाल न्यौपाने र तुलसी चौधरी समर्थक रहेर घर्ती क्षेत्रीले मनोनयन दर्ता गराएका छन् ।
यस्तै नरुलाल चौधरी प्रस्तावक र सीता शर्मा समर्थक रहेर केसीले उम्मेदवारी दर्ता गराएको एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए । यसअघि एमाले जिल्ला पार्टी कार्यालयमा संक्षिप्‍त समारोहबीच पोलिटब्युरो सदस्य लिला गिरीले माला लगाएर पार्टीको उम्मेदवारको टिकट हस्तान्तरण गरेका थिए ।

लुम्बिनीमा राष्ट्रिय सभामा दुई पदका लागि निर्वाचन हुँदैछ । नेकपा एमालेका कुमार दसौंदी र कांग्रेसकी अनिता देवकोटाको कार्यकाल सकिन लागेकाले आगामी माघ ११ गते नयाँ सदस्य छान्न निर्वाचन हुन लागेको हो ।

घर्ती एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुन् । उनी पाल्पा जिल्ला विकास समितिका पूर्वसभापति पनि भएका थिए । घर्ती उपाध्यक्ष विष्णु पौडेलनिकट मानिन्छन् ।

घर्ती साहित्यमा पनि रुचि राख्ने नेता हुन् । त्यस्तै केसी अनेमसंघ केन्द्रीय सदस्य तथा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य हुन् ।

एमाले दाङका नेता हुकुम बस्नेतले पार्टीमा लामो समयदेखि काम गर्दै आएकी केसीलाई अगाडि सारेको बताए । घोराही निवासी केसी महासचिव शंकर पोखरेलनिकट हुन् । लुम्बिनीमा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ ।

मतभारको हिसाबले एमाले कमजोर देखिन्छ । लुम्बिनीमा कूल मतभार ८ हजार ७५३ रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू