Ads

भुकम्प पीडित जाजरकोट : सिटामोल र जीवनजलको समेत अभाव भोग्दै


जाजरकोट\ जाजरकोटका भुकम्प पीडितले अत्यावश्यक औषधी समेत नपाउँदा बिरामी, सुत्केरी, गर्भवती तथा दिर्घरोगीहरुको ज्यानै खतरामा पर्ने अवस्था आएको छ । जिल्लाका स्वास्थ्य संस्थाहरुमा महिनौ देखि अत्यावश्यक औषधीको अभाव भएको छ । अस्थाई बासस्थान समेत नपाएका बिरामी, सुत्केरी, गर्भवती तथा दिर्घरोगीहरुले अत्यावश्यक औषधी समेत नपाउँदा ज्यानै जोखिममा परेको हो ।

जाजरकोटको जुनीचाँदेमा एक महिना देखि औषधि अभाव भएता पनि हालसम्म आपूर्ति हुन सकेको छैन । जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटकी एक महिनाकी सुत्केरी मनीषा रावत भूकम्प पछि त्रिपालको बसाइँका कारण रुघाखोकी, टाउको दुख्ने र पखाला लाग्ने समस्या भएपछि स्थानीय गर्खाकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र गएर औषधि नपाउँदा निराश भएर घर फर्कनु बाध्य भईन् ।

स्वास्थ्य परीक्षण गराएता पनि निःशुल्क दिनुपर्ने जीवनजल र सिटामोल समेत स्वास्थ्य संस्थामा नपाउँदा उनी रितै फर्कनु पर्यो । उनी जस्तै चिसोले धेरैलाई बिरामी पारेको बेला जुनीचाँदे गाउँपालिकामा औषधी अभाव हुँदा स्थानीयलाई निकै समस्या परिरहेको छ । लामो समय बिती सक्दा पनि औषधीको आपूर्ति हुन सकेको छैन । स्वास्थ्य संस्थामा जीवनजल र सिटामोल समेत पाइँदैन ।

चिसोले गर्दा पखाला, ज्वरो, टाइफाइड, निमोनिया, दम लगायतका बिरामीको सङ्ख्या बढिरहेको छ तर औषधी छैन । जुनीचाँदेका ११ ओटै स्वास्थ्य संस्था ६ महिना देखि औषधी विहीन छन् । यस आर्थिक वर्षमा औषधी आपूर्ति हुन सकेको छैन । साउन यता पालिकाले औषधी खरिद गरेको छैन भने सङ्घ र प्रदेश सरकारले पनि औषधी पठाएको छैन ।

औषधी अभावमा उपचार सेवा प्रभावित भएको स्वास्थ्यकर्मी स्वयमले बताउन थालेका छन् । चिसोका कारण निमोनिया, झाडापखाला, दम, रुघाखोकी लगायतको श्वासप्रश्वास सम्बन्धी समस्या बढ्दै गएको भए पनि औषधी नहुँदा उपचार गर्न समस्या भएको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा कार्यरत अनमी सरस्वती शाहीले बताएकी छन् ।

चिसोले सुत्केरी महिला, बालबालिका र बृद्धबृद्धा धेरै प्रभावित भएका छन् । औषधी नहुँदा कतिपय बिरामीहरू स्वास्थ्य संस्था नआएर घरेलु उपचारमा लाग्ने गरेको जुनीचाँदे गाउँपालिका १ बड्कुले स्वास्थ्य चौकीमा कार्यरत अनमी विष्णुकुमारी शाहीले बताईन् ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा.प्रतीक्षा भारतीले औषधि अभाव सँगै केही समय अघि जिल्लामा स्टक औषधी पठाइएको बताईन् । जुनीचाँदे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलबहादुर शाहीले औषधी दुई हप्ता सम्म पनि पालिकामा नपुगेको बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू