Ads

संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाइनु हुँदैनः कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाइनु नहुने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाइनु नहुने बताए ।

उनले सर्वोच्च अदालत र मानव अधिकार आयोगको निर्देशनलाई मध्यनजर राखेर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन बनाइनुपर्नेमा जोड दिए ।

पीडितलाई मर्का पर्नेगरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन बनाइनु नहुने बताए । नेता कोइरालाले राजनीतिक मुद्दा बनाएर पास गर्दा संसद्बाट पास भएपनि अन्तर्राष्ट्रिय स्तरमा देशको छवि नरहने भन्दै संक्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्ने बताए ।

उनले भने, “अहिले संक्रमणकालीन न्याय को कुरा आइरहेको छ । संक्रमणकालीन न्याय हामीले संविधानमा ६ महिनाभित्र पूरा गर्छौं भनेको हो । त्यस्तो ६ महिना कति बितिसक्यो सकेनौँ । अफ्ठ्यारा छन्, गाह्रो होला । तर गाह्रो छ भन्दैमा हामीले पीडितलाई न्याय दिन सकेनौँ भने त्यो संक्रमणकालीन न्याय बनाउँदैछौँ, सत्य निरुपण तथा मेलमिलाप आयोग, जो अबको संसद्मा जान्छ । त्यसले के म्यासेज दिन्छ ? यसमा बुझ्न जरुरी छ । हामीले संक्रमणकालीन न्यायलाई कुनै राजनीतिक लेनदेनको मुद्दा नबनाइयोस् । यो अत्यन्त गम्भीर विषय छ, यसलाई मुद्दा बनाउनु हुँदैन ।”

उनले लोकतन्त्र नेताहरूको लागि मात्रै आएको भन्दै अझै पनि जनताको, नागरिकको लागि लोकतन्त्र नआएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू