Ads

कर्णालीका मुख्यमन्त्री शर्मा प्रचण्डको निर्देशनविपरीत विश्वासको मत लिँदै


काठमाडाैँ । नयाँ सत्ता समीकरणका दलबीच भएको सहमति अनुसारमा कर्णालीमा नेकपा एमालेलाई मुख्यमन्त्री दिने सहमति भएपनि मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन्।

यसअघि सोमबार केन्द्रमा कर्णाली सरकारको नेतृत्व एमालेलाई दिने सहमति भएको थियो। सोहीअनुसार प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले पार्टीलाई कर्णाली सरकारको नेतृत्व छाड्न निर्देशनसमेत दिएका थिए। तर, माओवादीबाट मुख्यमन्त्री बनेका शर्मा सरकार नछाड्ने अडानमा छन्।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिन आज ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। कर्णालीमा माओवादीको पकड रहेकाले प्रदेशको नेतृत्व एमालेलाई दिन नहुने पक्षमा उपमहासचिव जनार्दन शर्मासहितका नेताहरू रहेका छन्। तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई दिने सहमति गरेपछि माओवादी भित्र विवाद बढेको हो।

माओवादीको एक पक्ष विश्वासको मत लिनुपर्नेमा जोड दिँदै रणनीति बनाउन व्यस्त देखिएका छन् भने अर्को पक्षले केन्द्रको सहमति तोडेर जान नहुने पक्षमा रहेको देखिएको छ। त्यस्तै एमालेले भने केन्द्रको सहमति पालना गरेर विश्वासको मत लिने प्रस्ताव फिर्ता लिनुपर्ने बताएको छ। गत फागुन २२ गते नेपाली कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि संविधान अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिने आज अन्तिम दिन हो।

मुख्यमन्त्री शर्माले केन्द्रको निर्देशन विपरीत विश्वासको मत लिन खोजेमा विश्वासको मत लिन उनलाई एमाले वा कांग्रेसको मत आवश्यक पर्ने गर्दछ। विकसित घटनाक्रम अनुसार एमालेले विश्वासको मत दिने सम्भावना कम रहेको बताइएको छ भने कांग्रेस सरकारबाट बाहिरिएका विश्वासको मत दिने सम्भावना रहेको देखिँदैन।

४० सदस्य रहेको कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १० तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रको एक एक सिट रहेको छ।

Ads

सम्बन्धित पोष्टहरू