काठमाडौं । संघीय संसद अन्तर्गत आज चार वटा समितिको बैठक बस्दै छ । अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा अन्तर–धार्मिक सहिष्णुता सम्बन्धमा मुस्लिम आयोगले खेल्दै आएको भूमिका तथा नेपाल हज व्यवस्थापनबारे छलफल गर्ने कार्यसूची रहेको छ । अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्नेछ ।
बैठकमा आर्थिक वर्ष २०८१–०८२ को बजेट तर्जुमा सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, नेपाल राष्ट्र बैंक, लगानी बोर्ड नेपाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच छलफल तथा अन्तरक्रिया कार्यक्रमको कार्यसूची छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा नै बस्ने छ । बैठकमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट हालसम्म भए गरेका काम तथा आगामी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ । यस्तै, दिउँसो साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्व विद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संशोधनकर्तासँग छलफल गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्