राष्ट्रिय परीक्षा बोर्ड ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबारभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार वैशाख २९ भित्रै नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारी भइरहेको छ। उनका अनुसार उत्तरपुस्तिका परीक्षण तथा अन्य म्यानुअल प्रक्रिया पूरा भइसकेको छ भने अहिले केही प्राविधिक ‘प्रोसेसिङ’ कार्य मात्रै बाँकी रहेको छ।
उनले भने, “हामीले पहिले नै भनेजस्तै वैशाख २९ भित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यअनुसार काम अघि बढिरहेको छ। म्यानुअल रूपमा गर्ने सबै काम सकिएको छ, अब केही प्राविधिक प्रक्रिया मात्रै बाँकी छन्।”
यस वर्ष एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ गरी कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए।
नतिजा कसरी हेर्ने ?
परीक्षा नियन्त्रण कार्यालयका अनुसार विद्यार्थीहरूले एसईई नतिजा एसएमएस, आईभीआर तथा वेबसाइटमार्फत हेर्न सक्नेछन्।
एसएमएस र आईभीआरबाट
नेपाल टेलिकम : १६०० मा फोन वा एसएमएस
एम्बिसन गुरु प्रा.लि. : ३१०६१ मा एसएमएस
जानकी टेक्नोलोजी प्रा.लि. : ३५००१ मा एसएमएस
वेबसाइटमार्फत नतिजा हेर्न
SEE Result Portal
National Examination Board
नेपाल टेलिकम SEE Result
eKantipur
EduSanjal SEE Result
Khalti App
College Info Nepal
The Connect Plus
Ncell App Result
Neema Academy Result
ResultAyo
Ambition Guru SEE
Mero Study SEE Result
NEB Education
पहिलोपटक एक महिनाभित्रै नतिजा
यस वर्ष पहिलोपटक एसईई परीक्षा सकिएको करिब एक महिनाभित्रै नतिजा सार्वजनिक हुन लागेको हो। अघिल्ला वर्षहरूमा उत्तरपुस्तिका विभिन्न जिल्लामा पठाउने, परीक्षण केन्द्र गोप्य रूपमा निर्धारण गर्ने तथा परीक्षण प्रक्रिया लामो हुने भएकाले नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको थियो।
तर यसपटक उत्तरपुस्तिका परीक्षणको मोडालिटी परिवर्तन गरिएकाले प्रक्रिया छिटो भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्