Ads

कम्युनिस्ट एकताको आवश्यकता झन् बढ्यो : प्रचण्ड


पुष्प कमल दाहालले नेपालमा अझै पनि कम्युनिस्ट आन्दोलनप्रति जनताको उल्लेख्य समर्थन रहेको बताएका छन् ।

२६औँ निर्मल लामा स्मृती सभालाई सम्बोधन गर्दै उनले श्रमजीवी वर्ग र कम्युनिस्ट शक्तिलाई केन्द्रमा राखेर नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

उनले विगतका उपलब्धिको मात्र चर्चा गरेर वर्तमान चुनौती समाधान नहुने उल्लेख गर्दै विचार, राजनीति र संगठनात्मक क्षेत्रमा नयाँ ढंगले अघि बढ्ने प्रयास भइरहेको बताए ।

प्रचण्डले कम्युनिस्ट आन्दोलनको ठूलो शक्तिलाई एकताबद्ध गर्ने प्रयास विगतमा गरिएको स्मरण गर्दै त्यसलाई जनताले उत्साहपूर्वक समर्थन गरेको दाबी गरे ।

“हामी निर्वाचनमा झण्डै दुईतिहाइ बहुमत नजिक पुगेका थियौं,” उनले भने, “यसले नेपालका श्रमजीवी जनता कम्युनिस्टहरूबीच एकता चाहन्छन् भन्ने देखाउँछ ।”

यद्यपि, उनले विगतका एकता प्रयास दिगो र सफल हुन नसकेको स्वीकार गरे । नेतृत्व तहबाट समय–समयमा एकताको पहल भए पनि त्यसलाई सुदृढ बनाउन आवश्यक विकास हुन नसकेको उनको भनाइ थियो ।

प्रचण्डले कम्युनिस्ट आन्दोलनमा एकता र विभाजनका धेरै शृंखला देखिएको उल्लेख गर्दै अहिले सच्चा कम्युनिस्ट शक्तिबीच एकताको आवश्यकता अझ बढी भएको बताए ।

उनले देशमा साम्राज्यवादी हस्तक्षेप बढ्दै गएको आरोप लगाउँदै कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने खेल अझै सतहमा पूर्ण रूपमा नआएको टिप्पणी गरे ।

साथै, उनले कम्युनिस्ट आन्दोलनले श्रमजीवी वर्गप्रति कहाँ कमजोरी गर्‍यो भन्ने विषयमा आत्मसमीक्षा आवश्यक रहेको बताए ।

“हामीले कमजोरी सच्याएर नयाँ ढंगले आन्दोलन अघि बढाउन जरुरी छ,” उनले भने, “जनयुद्ध, जनआन्दोलन र विभिन्न अभियानबाट आएको अनुभवले फेरि एकताको आधार खोज्न बाध्य पारेको छ ।”

Ads

सम्बन्धित पोष्टहरू