सिंहदरबारस्थित निर्माणाधीन संसद भवनभित्र प्रतिनिधिसभाको नयाँ सभा कक्ष निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी जेठ १५ गते प्रस्तुत हुने बजेट भाषण नयाँ हलबाट गराउने तयारी तीव्र पारिएको छ ।
निर्माण पक्षका अनुसार हाल सभा कक्षभित्र साउन्ड सिस्टम जडान, क्यामरा फिटिङ, कुर्सी व्यवस्थापन तथा बत्ती जडानको काम भइरहेको छ । पटक–पटक म्याद थपिँदा ढिलाइ भएको निर्माण कार्यलाई बजेट अधिवेशन लक्षित गर्दै अहिले तीव्र गतिमा अघि बढाइएको बताइएको छ ।
निर्माण सम्पन्न नहुँदा प्रतिनिधिसभा बैठक हाल अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ । नयाँ सभा कक्ष तयार भएपछि संसदका नियमित बैठक यहीँ सञ्चालन गरिने तयारी गरिएको छ ।
नयाँ भवन अत्याधुनिक प्रविधिसहित निर्माण भइरहेको जनाइएको छ । संसद सचिवालयले समयमै आवश्यक काम सम्पन्न गरी बजेट भाषण नयाँ हलबाटै गराउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस्