राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रवीन्द्र मिश्रले गणतन्त्र दिवसको अवसरमा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देशका शीर्ष नेतृत्वमाथि तिखो व्यंग्य प्रहार गर्नुभएको छ। आज सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मिश्रले गणतन्त्र दिवसलाई ‘प्रचण्डतन्त्र दिवस’ को संज्ञा दिनुभएको हो।
प्रचण्डलाई ‘प्रचण्ड युग’का नायक र ‘प्रचण्डतन्त्र’का पिता भन्दै मिश्रले वर्तमान प्रधानमन्त्री बालेन शाहभन्दा पनि उनलाई ‘असाधारण’ भन्नुभएको छ।
“तपाईँ आफू फुल्नु भयो, झर्नुभयो; रूनु भयो, रूवाउनु भयो; मार्नु भयो, मराउनु भयो; खुम्चिएर मरिच हुनुभयो, तर सबैलाई प्रचण्डवादी बनाइदिनु भयो,” मिश्रले लेख्नुभएको छ।
नयाँदेखि पुरानासम्म सबै ‘प्रचण्डवादी’!
मिश्रले प्रधानमन्त्री बालेन शाहदेखि रवि लामिछाने र स्वर्णिम वाग्लेसम्म तथा कांग्रेस-एमालेका शीर्ष नेताहरू केपी ओली, शेरबहादुर देउवा र गगन थापा सम्मको नामै किटेर सबैको अनुहारमा प्रचण्डकै लेप लागेको दाबी गर्नुभएको छ। ती नेताहरूले श्रेय लिन नचाहे पनि तथ्य यही भएको उनको तर्क छ।
वर्तमान व्यवस्थाप्रति असन्तुष्टि पोख्दै राजतन्त्रवादी नेता मिश्रले लेख्नुभएको छ, “मजस्ता भिन्न मत राख्ने मान्छेसँग चाहिँ नरिसाउनु होला है। प्रचण्डतन्त्र दिवस – ‘इतिहास रहोस्, अमर नरहोस्’ भन्छु, माइण्ड नगर्नोस् है।”
गणतन्त्र दिवसको दिन सामाजिक सञ्जालमा सार्वजनिक मिश्रको यो टिप्पणीले यतिबेला राजनीतिक वृत्तमा नयाँ बहस र तरंग पैदा गरिदिएको छ।
प्रतिक्रिया दिनुहोस्