काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला तत्काल नेतृत्व नछाड्ने स्पष्ट संकेत दिएका छन्। बुधबार काठमाडौंमा आयोजित सदस्यता नवीकरण, विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै उनले पार्टीलाई पुरानै शक्तिमा फर्काएर मात्रै आफू विश्राम लिने बताएका हुन्।
कार्यक्रममा बोल्दै ओलीले केही नेताहरूले नेतृत्व परिवर्तनलाई समाधानको रूपमा प्रस्तुत गरिरहेको भन्दै असन्तुष्टि जनाए। उनले भने, “कतिपय नेताहरू शिर काटेर टेबलमा राखिदिने हो भने पार्टी सुध्रिन्छ भन्ने मानसिकतामा छन्। शिर काटेर टेबलमा राखिदिने हो भने जीउले मात्र पार्टी एकता हुन्छ भन्ने सोच पार्टी हितमा छैन।”
उनले एमालेलाई एकताबद्ध राख्न आफ्नो नेतृत्व आवश्यक रहेको दाबी गर्दै जनताको बहुदलीय जनवादको सिद्धान्तमा दृढ रहन नेता–कार्यकर्तालाई आग्रह गरे।
ओलीको उक्त अभिव्यक्तिपछि कार्यक्रममा सहभागी एमाले उपमहासचिव योगेश भट्टराई ले सामाजिक सञ्जालमार्फत् व्यंग्यात्मक प्रतिक्रिया दिएका छन्। उनले एमालेको जनकपुरमा सम्पन्न सातौँ महाधिवेशनको बन्द सत्रमा सुनाइएको एउटा लोककथा स्मरण गर्दै अप्रत्यक्ष रूपमा ओलीको भनाइप्रति कटाक्ष गरेका हुन्।
भट्टराईले उल्लेख गरेको कथामा एक वृद्ध व्यक्ति बसभित्रको डन्डी समातेर बस दायाँ–बायाँ ढल्किँदा त्यसलाई विपरीत दिशातर्फ तान्दै यात्रा गर्छन्। गन्तव्यमा पुगेपछि उनले आफूले बस पल्टिनबाट जोगाएर सबै यात्रुको ज्यान बचाएको दाबी गर्छन्। भट्टराईले यही कथा स्मरण गर्दै “आज निकै सम्झना आयो” भनेर टिप्पणी गरेका छन्।
यता ओलीले नेतृत्व परिवर्तनको मागप्रति संकेत गर्दै आफू सहज परिस्थितिमा नेतृत्व लिन नआएको बताएका छन्। “सजिलो परिस्थितिमा प्रधानमन्त्री खान कस्सिने र अप्ठ्यारो पर्दा झोला फ्याँकेर भाग्ने गरी म अध्यक्ष बनेको होइन,” उनले भने, “म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई सफलतामा पुर्याएर मात्र विधिसम्मत रूपमा विश्राम लिनेछु।”
पछिल्लो समय पार्टीभित्र नेतृत्व पुस्तान्तरणको बहस, चुनावी परिणाम र आन्तरिक शक्ति सन्तुलनका विषयमा चर्चा भइरहेका बेला ओलीको अडान र त्यसपछि आएको भट्टराईको व्यंग्यात्मक प्रतिक्रिया एमालेभित्रको बहसलाई थप रोचक बनाएको छ।
प्रतिक्रिया दिनुहोस्