परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भारत भ्रमणको औपचारिक कार्यक्रम सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनाल भारतीय समकक्षीको निमन्त्रणामा भारत भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुका साथै नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार, ऊर्जा तथा आपसी हितका विविध विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
यसअघि परराष्ट्रमन्त्री खनाल २३ जेठमा भारत भ्रमणमा जाने कार्यक्रम तय भए पनि विभिन्न कारणले उक्त भ्रमण स्थगित भएको थियो। स्थगित भएको भ्रमण अब शुक्रबारबाट हुने भएको मन्त्रालयले जनाएको छ।
नेपाल र भारतबीच पछिल्लो समय विभिन्न क्षेत्रका सहकार्यलाई थप सुदृढ बनाउने प्रयास भइरहेका बेला परराष्ट्रमन्त्री खनालको भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
भ्रमणको विस्तृत कार्यतालिका भने मन्त्रालयले सार्वजनिक गरेको छैन। तर, भ्रमणका क्रममा द्विपक्षीय हितका समसामयिक विषयहरूमा केन्द्रित भएर छलफल हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्