Ads

निर्वाचन पर सार्ने षड्यन्त्र तर सरकार निर्वाचनबाट भाग्ने ठाउँ छैन् : ओली


काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई नमान्ने बताउनुभएको छ ।

राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन मान्न नसकिने बताउनुभएको हो ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित ११ सदस्यीय संसदीय टोलीमा एमालेका ४ जना र बाँकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरु थिए ।

ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुने गरी संसदीय समिति बनाइएको  बताउनुभयाे । ‘११ जनाको समिति बनाउने, ७ जना आफ्ना राख्ने, हुन्छ हुन्न भनेर रिपोर्ट ल्याउने ’ अध्यक्ष ओलीको भनाइ छ , ‘यो तथ्यमा आधारित रिपोर्ट होइन, त्यसलाई मान्न सक्ने कुरा हुन्न, नेपाली जनताले अस्वीकार गर्नुपर्छ ।’

अध्यक्ष ओलीले गठबन्धन दुई दिनको पाहुना र ढोडको लौरो भन्दै अदालत लोकतन्त्र र न्यायको पक्षमा हुनुपर्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे ‘यो गठबन्धन भनेको दुई दिनको पाहुना हो । यी ढोडका लौरोका भर परेर नचल्न म सबैलाई सुझाव दिन चाहान्छु ।’

अध्यक्ष ओलीले निर्वाचन पर सार्ने षड्यन्त्र भइरहेको भन्दै निर्वाचन सरे पनि २,४ महिना सार्ने तर निर्वाचनबाट भाग्ने ठाउँ सरकारलाई नरहेको बताउनुभयाे ।

‘हामी संघीय निर्वाचन र प्रदेश निर्वाचनतिर अगाडि बढिरहेका छौं । यद्यपि अहिले निर्वाचनलाई अलि पर सार्ने षडयन्त्र भइरहेका सुनिएका छन्’,ओलीले भन्नुभयाे, ‘तर जस्तासुकै षडयन्त्र भएपनि देशमा निर्वाचन हुनैपर्छ । बढ्तै सारे २,४ महिना सार्लान् । फेरि पनि निर्वाचनबाट उम्केर जाने ठाउँ छैन ।’

Ads

सम्बन्धित पोष्टहरू