काठमाडौं । साइबर अपराधका घटनाहरू बढिरहेका गुनासा सार्वजनिक भइरहेका बेला धरानमा नयाँ घटना सार्वजनिक भएकाे छ । जुन घटनाले नयाँ बिवाद उत्पन्न गरेकाे छ ।
प्रसंगतः नेकपा एमाले नेतृ एवं पूर्वउपमेयर मञ्जु भण्डारीको तस्वीर राखेर नक्कली आइडी (नयाँ फेसबुक) बनाई त्यसैको माध्यमबाट धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङलाई गाली गरेको पाइएको छ । भण्डारीका नामबाट मेयर साम्पाङलाई गाली गर्दै फेसबुकमा जथाभावी लेख्ने व्यक्ति ‘साइबर अपराधी’ रहेको सार्वजनिक भएकाे छ ।
भण्डारीले आफ्नो फेसबुक आइडीसमेत ह्याक भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मेरो नाममा आइडी प्रयोग गरेर जातीय सदभाव भड्किने अभिव्यक्ति दिने व्यक्ति पत्ता लगाइ कानूनी कारवारी गर्न माग गर्दछु ।’
मेयर साम्पाङले बराह बचतको विषयलाई लिएर एमाले कार्यकर्ताले पीडितलाई उचालेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्नुभएको थियो । साम्पाङको जवाफमा पूर्वउपमेयर भण्डारीका नामबाट फेसबुकमा आएको अभिव्यक्तिलाई लिएर साम्पाङले पनि जातीय भेदभावसहित भण्डारीले धरानलाई भाँड्न खोजेको आरोप लगाउनु भएकाे थियाे ।
नेतृ भण्डारीले आफ्नो फेसबुक आइडी अरुले प्रयोग गरेर भ्रम छर्ने काम गरिरहेको र त्यस्तालाइ कारवाही हुनुपर्ने बताउनुभयाे । त्यस बिषयमा भण्डारीले विहीबार धरानमा पत्रकार सम्मेलन नै आयोजना गर्नु भयाे । उहाँले भन्नुभयो, ‘आज मलाई खाने बाघले भोलि अरुलाई पनि खान सक्छ, त्यसकारण हामी सचेत हुन जरुरी छ। राज्यका निकाय र कानुन पनि बलियो हुनु जरुरी छ।’
साइबर अपराधको घटनाविरुद्ध आफू कानुनी उपचारमा जाने भण्डारीले बताउनुभयो ।
सामाजिक सद्भाव बिग्रने गरी सामाजिक सञ्जालको आइडी दुरुपयोग गर्ने लगायतका कामहरु जुन अराजक तत्वले गरेको छ, यसप्रति मेरो गम्भीर ध्यानाकर्षण छ। सामाजिक रुपमा द्वेष फैलाउने गरी भ्रम फैलाउने काम भएको छ। जनतालाई भ्रम पार्न हुँदैन भनेर मैले पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछु।
जातीय विभेद फैलाउने गरी मेरो सामाजिक सञ्जालको आइडी ह्याक भएको छ। हामीले हेर्दा फोटोसप गरिएको रहेछ। अपराधिक मानसिकताबाट अघि बढेको मैले बुझेकी छु। म कानुनी उपचारको समेत तयारी गरेर अघि बढेकी छु। यसलाई मैले सरासर साइबर क्राइमको रुपमा लिएकी छु।
सामाजिक सञ्जाल प्रयोग गरेर चरित्र हत्या गर्ने, सामाजिक सद्भाव भड्काउन खोज्ने काम ठीक भएन। म आफू राजनीतिक पृष्ठभूमिबाट आएकी मान्छे हुँ। म फुत्त आज एकदिन मात्र अघि बढेकी होइन। कुनै पब्लिक सेन्टिमेन्ट र एउटा निश्चित मुद्दाबाट आएको मान्छे पनि होइन। कम्युनिस्ट आन्दोलनबाट मात्र नभई सामाजिक र राजनीतिक आन्दोलनलाई पनि सँगसँगै लिएर आएकी हुँ।
मेरा लागि सामाजिक सद्भाव, जातीय समानता कायम गर्ने कुरा र समावेशिताको सिद्धान्तलाई अंगीकार गर्ने कुरा महत्वपूर्ण विषय हो। म व्यक्तिगत नभई राजनीतिक मान्छे भएको हुँदा यस्तो विषयमा म बोल्दा पनि बोल्दिँन। आजसम्मको इतिहास हेर्दा म यस्ता विषयमा बोलेकी पनि छैन। सामाजिक सद्भाव भड्काउने यस्ता क्रियाकलापप्रति सजग हुनपर्ने बेला भएको छ। आज मलाई खाने बाघले भोलि अरुलाई पनि खान सक्छ त्यसकारण हामी सचेत हुन जरुरी छ। राज्यका निकाय र कानुन पनि बलियो हुनु जरुरी छ।
प्रतिक्रिया दिनुहोस्