सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-५ जुबुमा एकै दिन तीन वटा कार्यक्रमको उद्घाटन गरिएको छ ।
शुक्रबार गाउँपालिका अध्यक्ष अशिम राईले लक्ष्मी बैकको शाखारहित बैंकिङ सेवा, ग्रामीण स्वास्थ्य इकाइ र वडा कार्यालयको भवन उद्घाटन गर्नुभएको हो ।
वडा नम्बर ४, ५ र ९ लाई लक्षित गरि सुकेपोखरीबजारमा लक्ष्मी बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालनको उद्घाटन गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । कोशी पारीका नागरिकलाई सहज बैंकिङ सेवा प्रदान गर्नको लागि बैंक सङ्ग सहकार्य गरि वडा नम्बर ७ र ८ लाई लक्षित गरि बुढिडाँडा र जुबुमा सेवा सन्चालन गर्न सफल भएको पालिका अध्यक्ष राईले बताउनुभयो ।
जिल्लामा नै बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेको स्मरण गर्दै अध्यक्ष राईले जेष्ठ नागरिकलाई यातायातमा हुने खर्च र समय बचत हुने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै ग्रामीण स्वास्थ्य इकाईको भवन उद्घाटन पश्चात सेवा प्रवाहमा निकै सहज हुने इकाइका निमित्त प्रमुख ज्योति राईको भनाइ छ । यस अघि निजि घर भाडामा लिएर स्वास्थ्य सेवा प्रबाह भैरहेको थियो । गाउँपालिकाको पहलमा करिब ३२ लाखको लागतमा रावा कन्ट्रक्सनले उक्त भनव निमार्ण गरेको हो ।
यसैबीच, गाउँपालिका र जिल्ला समन्वय समिति सोलुखुम्बुको लागत साझेदारीमा वडा-५ को वडा भवन निर्माण गरिएको हो। वडा अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षता एवम् पालिका प्रमुख राईको प्रमुख आतिथ्यतामा उक्त वडा भवनको उद्घाटन गरिएको वडा नम्बर ७ का अध्यक्ष पालिका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपप्रमुख सविता राईले वडा नम्बर ५ बासीलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा सेवा प्रबाहमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो । हिमालय माविको भवनबाट सेवा दिदै आएको वडाले अब देखि आफ्नै कार्यालयबाट प्रदान गर्दा सहजता हुने भन्दै उपप्रमुख राईले गुणस्तरीयताका साथै सहजरुपमा प्रदान गर्नको लागि कर्मचारीलाई निर्देशन दिनुभयो ।
पालिका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीले नागरिक सचेत नभए सम्म विकास नहुने भन्दै खवरदारी र समर्थनको भावनामा बिकास हुनुपर्ने बताउनुभयो ।
यस्तै पालिका प्रमुख असिम राईले स्थानीय सरकारले भौतिक पुर्वधार निमार्ण देखि जनजीविकाको सबालमा उत्तिकै काम गरिरहेको बताउनुभयो । भौगोलिक हिसाबले जुबु र लोखिम पालिका केन्द्र देखि बिकट रहेको विषयलाइ मध्यनजर राखी काम गरिरहेको बताउनुभयो । गाउँपालिकाको नौ वटै वडालाइ समान ढंगले बिकास गर्ने अबधारणालाई आत्मासाथ गर्दै काम गरिरहेको भन्दै अध्यक्ष राईले सवैको सहभागीता बिना बिकास संभव नहुने बताउनुभयो ।
एकै दिन तीन वटा कार्यक्रमको उद्घाटन गरेको स्मरण गराउँदै अध्यक्ष राईले निमार्ण व्यवसायीले इमानदारीताका साथ काम गर्नेभए बिकास निर्माणमा ठुलो टेवा पुग्ने बताउनुभयो । ठेकेदारले काम नगर्ने अनि जनप्रतिनिधिलाई गाली गर्ने काम भइरहेको भन्दै अध्यक्ष राईले काम नगर्ने ठेकेदारलाई बहिस्कारको नीति लिने बताउनुभयो । यस्तै सोही कार्यक्रममा जग्गादातालाइ सम्मान गरिएको छ भने पहिरो पीडित परिवारलाई राहत स्वरुप दस हजार नगद हस्तान्तरण पनि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्