काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता २०७९ संशोधनका लागि ३७ बुँदे सुझाव दिएको छ । आज आयोग र दलका प्रतिनिधिबीच भएको छलफलमा एमालेले उक्त सुझाव दिएको हाे ।
निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थ्ता जस्ता पक्षमा ध्यान दिई निर्वाचन आचारसंहितालाई लागू गर्न सकिने बनाउनुपर्ने, आचारसंहिता लागू हुने अवधि निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म हुनुपर्ने, निर्वाचनको मौन अवधि ४८ घण्टा घटाई २४ घण्टा बनाउनुपर्ने लगायत सुझाव रहेका छन् ।
एमालेले आफ्नो सुझावमा भनेको छ, ‘उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचार प्रसारको लागि २५ जनाभन्दा बढीको जुलुस लान नपाइने लगायतको व्यवस्था हटाउनुपर्नेछ । जुलुस, आमसभा, कोणसभा, बैठक, भेलाको जानकारी स्थानीय प्रशासनलाई गराउनुपर्ने व्यवस्था हटाउनु पर्नेछ ।’
यस्तै आचारसंहितामा मुख्य प्रचारकको संख्या तोक्नु नहुने तर मुख्य प्रचारक को-को हुने भन्ने जानकारी निर्वाचन आयोगलाई हुनुपर्ने व्यवस्था गर्ने, सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कुनै राजनीतिक दल वा उम्मेदवारको बढी र कुनै राजनीतिक दल वा उम्मेदवारको कम स्थान दिई कार्यक्रम, समाचार, विचार प्रवाह नगरी समानुपातिक र सन्तुलित गर्नुपर्ने लगायतका सुझाव पनि एमालेले दिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्