Ads

निलम्बित प्रधानन्यायाधीशको तेस्रो दिन बयान सुरू


काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग सिफारिस समितिको बैठकमा आइतबार तेस्रो दिन बयान सुरू भएको छ ।

समितिले निलम्बित जबरासँग बुधबारबारदेखि बयान लिन सुरू गरेको थियो । बयानका लागि ४३ वटा प्रश्न तय गरिएको छ । पहिलो दिन चार वटा तथा दोस्रो दिन दुई गरी अहिलेसम्म जम्मा छवटा प्रश्नमाथि छलफल भएको छ । आज सातौँ प्रश्नबाट बयान सुरू हुनेछ । निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको र संविधान र कानुन बमोजिम काम गर्दै आएको बयान दिनुभएको छ ।

छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहनुभएका राणाको महाअभियोग प्रमाणित हुने वा नहुने विषयको तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको छ । उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले उहाँलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार बयान लिने काम भइरहेको छ ।

राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियो । संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते मात्र सो समितिको पहिलो बैठक बसेको थियो । राणाविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियो । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारण समेटिएको छ ।

समितिले निलम्बित प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र राणाले प्रश्नको जवाफ दिने क्रम आज पनि रहनेछ ।

Ads

सम्बन्धित पोष्टहरू