विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको नागरिकता विधेयक जस्ताको तस्तै पास गरेर सरकारले उद्दण्डता देखाएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको राजीनामा मागेकोमा समेत आपत्ति जनाएका छन् ।
गृह जिल्ला झापा जाने क्रममा शनिवार अपराह्न विराटनगर विमानस्थल उत्रिएका अध्यक्ष ओलीले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने गरी अहिलेको विधेयक फिर्ता लिएर अर्को विधेयक ल्याउन सरकारलाई आग्रह गरे ।
ओलीले प्रचण्डका आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ? भन्ने प्रश्न गर्दै सरकारका उद्दण्ड क्रियाकलापलाई एमालेले संसद् बाहिरबाटै ठेगान लगाइदिने बताए ।
मंसिर ४ को निर्वाचनले देशको भाग्य र भविष्य फैसला गर्छ
अध्यक्ष ओलीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नियमित प्रक्रिया मात्र नभएको बताए ।
विराटनगरमा आयोजित नेपाल बुद्धिजिवी परिषद् १ नम्बर प्रदेशको प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ को चुनाव निक्कै महत्वपूर्ण रहेको बताए । लोकतन्त्रको सुन्दर पक्ष चुनाव भएको भन्दै उनले मंसिर ४ को चुनाव देशको भाग्य र भविष्यको फैसला गर्ने चुनाव भएको बताए ।
अहिलेकाे गठबन्धन सरकार कठपुतली सरकार भएकाे समेत उनले बताए। गठबन्धन सरकार कस्ताे चलेकाे छ भन्ने आफूले व्याख्या गर्नै नपर्ने उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्