झापा । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले संसद्मा अवरोध नगर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । उनले भने,“संसद्को अवरोधका पछाडि अहिलेको सत्ता समीकरण भत्काउने नियत लुकेको हुनसक्छ । ”
पार्टीको बिर्तामोड नगर कमिटीको आज आयोजित दोस्रो नगर अधिवेशनमा महासचिव पोखरेलले मुलुकमा राजनीतिक स्थिरताको आवश्यकता रहेको औँल्याए । कोशी प्रदेशको नामाकरणमाथि प्रश्न उठाउने र लोकप्रियताको नारा लगाउने दुवै खाले शक्तिहरु इलामको उपनिर्वाचनमा जनताले दिएको अभिमतबाट परास्त भएको उनले दाबी गरे । पार्टीका नगर अध्यक्ष सुवास भट्टराईको अध्यक्षता भएको अधिवेशनमा एमाले का स्थायी कमिटी सदस्य अग्नी खरेल लगायतले मन्तब्य व्यक्त गरेका थिए।
झापाका चार पालिकामा नेतृत्व चयन
एमालेले झापाका १५ वटा पालिकामध्ये चार वटा नगरपालिकामा पार्टीको पालिका समिति हालै निर्वाचित गरेको छ । मेचीनगरमा राजु कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ भने शिवसताक्षी नगर कमिटीको अध्यक्षमा मेदनी दङ्गाल निर्वाचित भएको छ ।
यसैगरी, पार्टीको झापा गाउँपालिकाको गाउँ कमिटी अध्यक्षमा मोहन घिमिरे र दमक नगर कमिटीको अध्यक्ष पदमा राम पौडेल निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्