काठमाडौँ, अघिल्ला वर्षमा महामारीकै रूपमा फैलिएको डेङ्गु रोगको सङक्रमण यस वर्ष पनि प्रकोपकै रूपमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्ममा देशका ६१ जिल्लामा डेङ्गु रोग सङक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत डेङ्गु रोग नियन्त्रण प्रमुख डा. गोकर्ण दाहालले यस वर्ष डेङ्गुको सङ्क्रमण तीव्र रूपमा फैलिएको जनाए । उनका अनुसार जनवरी (पुस–माघ_ यता एक हजार सात जना डेङ्गुका बिरामी भेटिएका छन् ।
नेपालमा सन् २०१९ मा १७ हजार ९९२ जनामा डेङ्गु पुष्टि भएको थियो । सन् २०२० मा ५३०, सन् २०२१ मा ५४०, सन् २०२२ मा ५४ हजार ७८४ र सन् २०२३ मा ५१ हजार २४३ जनामा डेङ्गु पुष्टि भएको महाशाखाले जनाएको छ । सन् २०२२ मा नेपालमा डेङ्गुबाट ८८ जना र सन् २०२३ मा २० जनाको मृत्यु भयो ।
यसै विच इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गु नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ । डा.दाहालले डेङ्गु नियन्त्रणमा शिक्षा, खानेपानी, वन, स्थानीय, विभिन्न सङ्घ संस्थाको भूमिका रहने जनाए । उनले स्वास्थ्य मन्त्रालयले मात्र डेङ्गु नियन्त्रण गर्न कठिन हुने भएकाले सहकार्य आवश्यक रहेको बताएका छन् ।
गत वर्ष महामारीको रूप लिएका १२ वटा जिल्लाका १२३ स्थानीय तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले स्थानीय तहका प्रमुखरअध्यक्ष, स्वास्थ्य शाखाका प्रमुख, प्रदेशका प्रतिनिधिलाई राखेर सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्