Ads

जनताले सङ्घीयताको महसुस गर्नेगरी काम गर्नुपर्छ : खापुङ


खोटाङ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले जनताले सङ्घीयताको महसुस गर्नेगरी जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेश समितिले शनिबार दिक्तेलमा आयोजना गरेको ‘सङ्घीयता सुदृढीकरण तथा संविधान कार्यान्वयन’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले प्राप्त अधिकारहरू कार्यान्वयन गर्दै जनताले प्रत्यक्षरूपमा सङ्घीयताको महसुस गर्नेगरी जनप्रतिधिले काम गर्नुपर्ने बताएका हुन् ।

प्रदेश प्रमुख खापुङले जनताको अपेक्षा पूरा गर्न तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए । “मुलुकको विकासका लागि स्थानीय स्रोत तथा साधनलाई भरपुर सदुपयोग गर्नुपर्छ । स्थानीय स्रोत तथा साधनको सदुपयोग नभएसम्म विकास सम्भव छैन”, उनले भने, “स्थानीय स्रोत तथा साधन सदुपयोग गर्न सङ्घीयता सुदृढ ढङ्गले कार्यान्वयन गर्नुपर्छ । सङ्घीयता कार्यान्वयन भएपछि मात्र जनताले खान, बस्न र रोजगारीलगायतका आधारभूत सेवासुविधा प्राप्त गर्न सक्छन् ।”

प्रदेश प्रमुख खापुङले जिल्ला समन्वय समितिको उद्देश्य, लक्ष्य र जिम्मेवारी पूरा गर्नका निमित्त आवश्यक कानुन निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताए । जनताको अवस्थामा परिवर्तन नआएसम्म देशमा सङ्घीयता कार्यान्वयन भएको नमानिने उनले बताएका छन् । “भौतिक पूर्वाधार विकास भए पनि जनताको बाँच्न पाउने अधिकार सुनिश्चित भएको छैन भने त्यो विकास भएको मानिँदैन । जनप्रतिनिधिहरूले भौतिक पूर्वाधारहरूसँगै जनताको गाँस, बास र कपास सुनिश्चिततामा ध्यान दिन जरुरी छ”, उनले भने ।

जिल्ला समन्वय समिति महासङ्घ नेपाल र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी)को संयुक्त आयोजनामा भएको कार्यक्रममा संविधानसभा सदस्य एवं कानुनविद् हरि रोकाले ‘नेपाली विशेषताको सङ्घीयता’ शीर्षकको कार्यपत्र पेस गरेका थिए ।

प्रदेश प्रमुख खापुङलाई जिल्ला समन्वय समिति महासङ्घ नेपालले सम्मानसमेत गरेको थियो । दिक्तेलस्थित सोल्मामा आयोजित साकेला उँभौली कार्यक्रममा समेत सहभागी हुन दिक्तेल आएका प्रदेश प्रमुख खापुङलाई जिल्ला समन्वय समिति खोटाङले मायाको चिनोस्वरुप वाबु ‘चिण्डो’ उपहार दिएको छ ।

जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेशका अध्यक्ष कमल थुलुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष राजन मेहता तथा पदाधिकारी, कोशी प्रदेशका १४ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा समन्वय अधिकारीलगायतको उपस्थिति थियो । जिल्ला समन्वय समिति महासङ्घ नेपालले ‘सङ्घीयता सुदृढीकरण तथा संविधान कार्यान्वयन’ विषयक कार्यशाला गोष्ठी सातवटै प्रदेशमा आयोजना गरेको महासङ्घका केन्द्रीय कोषाध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू