Ads

यस्ताे बन्दैछ बहुआयामिक दमक भ्यू टावर, एमाले अध्यक्ष ओलीद्वारा निरीक्षण


दमक। नेकपा (एमाले) का  अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सबैभन्दा अग्लो भनिएको निर्माणाधीन बहुआयामिक दमक भ्यू टावरको निरीक्षण गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र ५ अन्तर्गत दमक वडा –३ दाँपगाछीमा निर्माणाधीन भ्यू टावरको निरीक्षण गर्नुभएको हो ।

ओलीले भ्यू टावरको निरीक्षण गर्दै दमकको मात्र नभएर देशको पहिचानयुक्त भ्यू टावर निर्माण भइरहेको बताउनुभयो । पर्यटकीय विकासको एउटा नमुनाको रूपमा यसको पहिचान स्थापित हुनेछ, ओलीले भन्नुभयो । आन्तरिक तथा बाह्य पर्यटनका लागि यो टावर नमुना बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

भ्यू टावरको शिलान्यास अध्यक्ष ओलीले तीन बर्षअघि गर्नुभएको थियो । १८ तलासम्म कंक्रिटबाट बन्ने भ्यू टावर त्यसमाथि स्टेल पनि रहने बताइएको छ । १८ तलाको कंक्रिट तला निर्माणको अन्तिम चरणमा रहेको छ । यो भ्यू टावरको उचाइ १ सय मिटरको हुने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

३२ हजार ७ सय ११ वर्गमिटरको क्षेत्रफलमा निर्माण भइरहेको छ । भ्यू टावरमा पसल, अफिस, रेस्टुराँ र क्याफे रहने दमक वडा ३ का वडाध्यक्ष नवीन बरालले बताउनुभयो । फराकिलो खाली स्थानको तल्लो तलामा पसलका लागि मुख्य स्थानहरू रहने र भुँइतला कर्पोरेट पार्किङस्थलको रूपमा निर्माण हुनेछ ।

दमक भ्यू टावरमा एकै पटक करिब एक हजार सङ्ख्या अवलोकन गर्न सक्ने बताइएको छ । अत्याधुनिक सपिङ महलसहित स्वीमिङ पुल तथा विभिन्न आकर्षक पानीको फोहोरा समेत निर्माणको काम हुनेछ । दमक ३ को पहिचान र गौरवको रूपमा यसलाई हेरेका छौ, वडाध्यक्ष बरालले भन्नुभयो ।

सघन सहरी तथा भवन निर्माण आयोजनाले भ्यु टावर बनाउन चिनियाँ कम्पनी जेडसीजीआईईसी सहित आशीष ओम साइराम निर्माण कम्पनी जेभीसँग एक अर्ब ५६ करोड १४ लाखको सम्झौता गरेको छ । कोभिड लगायतका कारणले भ्यू टावर निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको बरालले बताउनुभयो । तस्बीर  :विष्णुप्रसाद पोखरेल ,गाेरखापत्र

Ads

सम्बन्धित पोष्टहरू