काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने तय भएकाे छ । यसअघि बुधबारको बैठकमा तीनवटा विधेयक पेस गरिएका छन् । अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गरेका हुन् । सुरुका दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधका सूचनालाई सभाको बहुमतले अस्वीकृत गरेको थियो ।
आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, मन्त्री बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० तथा ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन् । यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको ‘राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव गर्ने कार्यक्रम छ । साथै ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८०’ पारित गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्