काठमाडौं । नयाँ गठवन्धन बने पछि प्रमुख सत्ता साझेदार नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिई सकेको छ । उसले समर्थन फिर्ता लिँदै मन्त्रीहरुलाई समेत फिर्ता बोलाई सकेको छ । यस लगत्तै अन्य साझेदारहरुले पनि प्रचण्डलाई छोड्दै राजीनामा दिँदैछन् ।
यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले आज राजीनामा दिने भएका छन् । सो पार्टीका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । राजीनामा अघि प्रधानमन्त्रीसँग परामर्श गर्न सो पार्टीका नेताहरू बालुवाटार पुगेका हुन् । सरकारमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।
यसैगरि अशोक राई नेतृत्वको जसपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन् । जसपाबाट सरकारमा सहभागी दुई मन्त्री र एक राज्यमन्त्रीले आजै राजीनामा बुझाउने महासचिव मोहम्मद इस्तियाक राईले बताए । जसपाबाट स्वास्थ्य मन्त्री प्रदीप यादव, वनमन्त्री नलकिशोर सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खान सरकारमा छन्।
प्रतिक्रिया दिनुहोस्