काठमाडाैं । न्युरोडमा फुटपाथ विस्तारको निर्णय फिर्ता लिन माग गर्दै आन्दोलनको नेतृत्व गरिरहेका काठमाडौँ महानगरपालिका २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनले सडकमै टेबलकुर्सी राखेर काम शुरु गरेका छन् ।
धर्मपथ सडकखण्डबाट नेपाल बैंक जाने बाटोमा पाल टाँगी टेबलकुर्सी राखेर उनले त्यहिँबाट वडाको काम गर्न लागेका हुन् । महानगरले फुटपाथ विस्तार गर्ने निर्णय फिर्ता नलिएसम्म सडकबाटै वडा कार्यालय चलाउने एमालेबाट वडाध्यक्ष जितेका उनले बताए ।
एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका पूर्वसांसद गणेश दुलाल, नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाका सभापति निलकाजी शाक्य, तरुण दलका पूर्वकेन्द्रीय सदस्य अमृत मानन्धरले ऐक्यवद्धता जनाएका छन् । त्यस्तै, २३ नम्बरका वडाध्यक्ष मचाराजा महर्जन, ३२ का नवराज पराजुली, १८ का न्हुन्छेकाजी महर्जन, २१ नम्बरका उदय चुणामणि बज्राचार्य, वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठलगायत एक सय बढीको समर्थन छ ।
फुटपाथ विस्तारको चर्को विरोध भएपछि महानगर प्रहरी बलका एसपी मनोजप्रसाद लामिछानेले डोजर फिर्ता लगेका छन् । यद्यपि, आन्दोलन भने जारी नै छ ।
उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन अन्तरिम आदेश दिएसँगै महानगरले गत बुधवारदेखि काम शुरु गरेको थियो । तर, फुटपाथ विस्तार गर्दा सडक साँघुरो हुने र न्युरोडको इतिहास मेटिने भन्दै वडाध्यक्ष महर्जनको नेतृत्वमा प्रदर्शन भइरहेको छ ।
सो क्रममा शुक्रबार स्थानीयहरुले जुद्ध शालिक हुँदै धर्मपथ सडकखण्डबाट नेपाल बैंक जाने बाटोसम्म राति धर्ना बस्न पाल टाँगेका थिए । दिँउसो महानगरको डोजरमाथि चढेका उनीहरु रातभर जाग्राम बसेर सडक खन्न दिएनन् ।
प्रतिक्रिया दिनुहोस्