Ads

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामालाई अघि सार्ने कांग्रेसको सर्वसम्मत निर्णय


काठमाडाैं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले बागमतीको मुख्यमन्त्रीमा संसदीय दलका नेता बहादुरसिंह लामालाई अगाडि सार्ने निर्णय गरेको छ ।

दलको बैठकले लामालाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको बागमती प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक रामकृष्ण चित्रकारले जानकारी दिए ।

‘हाम्रो संसदीय दलको बैठकले सर्वसम्मत रूपमा मुख्यमन्त्रीमा बहादुरसिंह लामालाई अगाडि सार्ने निर्णय गरेको छ,’ प्रमुख सचेतक चित्रकारले  भने, ‘आजै मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम छ । उहाँले विश्वासको मत पाउने स्थिति छैन । उहाँले विश्वासको मत नपाउने भएपछि प्रदेश प्रमुखले नयाँ सरकारको लागि आह्वान गर्नु भएपछि हामी सरकारमा दाबी गर्छौं ।’

बागमतीको ११० सदस्यीय प्रदेशसभामा कांग्रेसको ३७ र एमालेको २७ सांसद छन् । ५६ सांसद बहुमतको लागि आवश्यक हुनेमा यी दुई दलसँग ६४ सांसद छन् ।

बागमतीमा माओवादी केन्द्रका २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाका ३ र हाम्रो नेपाल पार्टीका २ जना सांसद छन् । कांग्रेस र एमाले एकै ठाउँमा उभिएकोले माओवादीबाट मुख्यमन्त्री बनेका शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने स्थिति छैन । उनले १ बजे प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

कांग्रेसको दल बैठक बाढी पहिरो पीडितको उद्धार गर्न, राहत दिलाउन पनि माग सरकारको ध्यानाकर्षण गराएको छ ।

केन्द्रमा कांग्रेस र एमालेको समीकरण बनेपछि प्रदेशमा पनि भागबन्डाको आधारमा नयाँ सरकार बन्न लागेको हो ।

एमालेसँगको सहमति अनुसार बागमती कांग्रेसको भागमा परेको छ ।

Ads

सम्बन्धित पोष्टहरू