विराटनगर- सत्ता गठबन्धनका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुले विराटनगरमा निर्वाचन आचारसंहिता विपरितको काम गरेका छन् । मोरङ क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रका अमनलाल मोदी र नेपाली कांग्रेसका भीम पराजुलीले निर्वाचन कार्यालयलाई ढाँटेर सम्मान कार्यक्रम गरेका हुन ।
मतदातालाई प्रभावित पार्ने उद्देश्यले आज निर्वाचन क्षेत्र नं. ४ अन्र्तगत विराटनगर १० को विराट सेवा सदनमा करिव १ सय जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । श्रोतका अनुसार सम्मान कार्यक्रममा जेष्ठ नागरिकलाई नगद पनि वितरण गरिएको थियो ।
निर्वाचन कार्यालयलाई सम्मान हैन भन्दै प्रतिनिधिसभा उम्मेदवार मोदी र प्रदेश सभा उम्मेदवार पराजुलीले ढाँटेर जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको पाईएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले सम्मान कार्यक्रमबारे जानकारी आएपछि सोधपुछ गरिएको बताए । उनले भने,‘ सम्मान कार्यक्रमबारे बुझ्दा मतदाता भेटघाट भएको बताईयो ।’ निर्वाचनलाई प्रभावित पार्ने गरिसम्मान कार्यक्रम गर्न नपाईने उनले बताए । उनले यसमा आचारसंहिता आकर्षित हुने बताए ।
नेपाल कांग्रेस विराटनगर १० को आयोजनामा सम्मान कार्यक्रम भएपनि वुथ सभापति अर्जुन कार्कीले सम्मान कार्यक्रमबारे आफुलाई थाहा नभएको प्रतिक्रिया दिए । उनले भने,‘ सम्मानबारे थाहा भएन, भेटघाट मात्रै हो ।’ जेष्ठ नागरिकहरुलाई वितरण गरिएको सम्मान पत्रमा कार्की, प्रतिनिधिससभा सदस्यका उम्मेदवार अमनलाल मोदी र प्रदेशसभाका उम्मेदवार भीम पराजुलीले हस्ताक्षर गरिएको प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा सम्मानित भएकी विराटनगर १० शान्तिचौककी जलश्री साहले भोटका लागि सम्मान गरेको प्रतिक्रिया दिईन । उनका अनुसार कार्यक्रममा एकसय बढी जेष्ठ नागरिकहरुलाई सम्मानित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्