Ads

स्थानीय तहलाई सक्षम बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पाण्डे


कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतासँग प्रत्यक्षरुपमा जोडिने स्थानीय तहलाई सक्षम बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल नगरपालिका सङ्घद्वारा आयोजित ‘नगर सुशासन, वित्तिय अनुशासन र दिगो विकास’ विषयक प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रममा उनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

“संवैधानिकरुपमा कार्यसम्पादन गर्दा उत्साह बढ्नुका साथै गल्ती कमजोरीबाट बच्न सकिन्छ”, उनले भने, “जनताका अपेक्षा अनुसारका विकास निर्माण कार्यलाई अघि बढाउँदै सुशासन कायम गर्न स्थानीय सरकार र सरोकारवालाबीच दोहोरो संवाद हुन आवश्यक छ ।”

जनताका आवश्यकतालाई दृष्टिगत गर्दै योजना निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै मुख्यमन्त्री पाण्डेले तीनवटै तहबीचको सहकार्य आवश्यक हुनेमा जोड दिए । महालेखा परीक्षक तोयम रायले कर्मचारीले कानुनसम्वत् कार्यसम्पादनमा चुक्न नहुने बताउँदै आवश्यकता अनुसार  स्थानीय र प्रदेशस्तरमा तालिम दिन आफूहरू तयार रहेको बताए ।

नेपाल नगरपालिका महासङ्घका अध्यक्ष भीमनिधि ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग गण्डकी प्रदेश, महालेखा परीक्षक कार्यालय र खरिद तथा अनुगमन कार्यालयका तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका नगरप्रमुख, उपप्रमुख र प्रमुख कार्यकारी अधिकृतसहित ७५ जनाको सहभागिता थियो ।

Ads

सम्बन्धित पोष्टहरू