बाजुरा,काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदैछ । यो मिति आउँन अव एक हप्ता मात्र बाँकी छ । बाजुराको प्रदेश सभा क्षेत्र नं. (क) मा भने अहिलेसम्म गठबन्धनको उमेदवार को हो ? भन्ने टुङगो लाग्न सकेको छैन । नेकपा एकीकृत समाजवादी र माओवादीले अलगअलग उमेदवारी दिएपछि बाजुरा कांग्रेसमा कस्लाई गठबन्धनको उमेदवार मान्ने भन्ने अन्योल सिर्जना भएको छ ।
उमेदवारी दर्ताको दिन प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र प्रदेशसभा (ख) मा पदम बहादुर शाही र प्रदेश सभा क्षेत्र नं. (क) मा माओवादी केन्द्र बाजुरा ईन्चार्ज कर्णबहादुर बि.कलाई गठबन्धनबाट उमेदवारी घोषणा गर्दै उम्मेदवारी दर्ता भएको थियो ।
उमेदवारी दर्ताको अन्तिम दिन नेकपा एकीकृत समाजवादी (एस)बाट नरेश शाहीले पनि उमेदवारी दर्ता गराए । उमेदवारी फिर्ता लिने अन्तिम दिनसम्म मनोनयन दर्ता गरेका कसैले उमेदवारी फिर्ता नलिएपछि गठबन्धनबाट दुई उम्मेदवारी कायमै रहे । प्रदेशसभा बाजुरा (क)मा नेकपा माओवादीको तर्फबाट नेता वि.कले टिकट पाएका थिए । सोही क्षेत्रका लागि नेकपा एसका तर्फबाट शाहीले पनि उमेदवार दर्ता गराएका थिए ।
अहिले कांग्रेस र एकीकृत समाजवादी (एस)का उम्मेदवार संयुक्त चुनावी अभियानमा छन् । माओवादी र नेकपा एकीकृत समाजवादी (एस)ले गठबन्धनको साझा उम्मेदवार भन्दै प्रचार गरिरहेका छन् । तर, चुनाव नजिकिदै जाँदा कांग्रेसले कस्लाई सहयोग गर्ने भन्ने निष्कर्षमा अझैं पुग्न नसकेको बताइन्छ ।
कांग्रेस बाजुरा जिल्ला सभापति रामसिंह रावलले भने अहिले कस्लाई सहयोग गर्ने र कस्लाई नगर्ने भन्ने विषयमा छलफल भईरहेको बताए । अहिले उमेदवारी दर्ता गराएका प्रतिस्पपर्धीले एक आपसमा मित्रवत व्यवहार प्रतिस्पर्धा गरेको रावलले बताएका छन् । यसबारेमा पार्टीले अहिले कुनै प्रकारको निर्णय नगरेकोसमेत उनले जानकारी दिए । हामी अहिले छलफलमा छौँ, उमेदवारको मित्रवत प्रतिस्पर्धाभित्र कांग्रेसले गर्नुपर्ने जिम्मेवारी र अन्य विषयमा छलफल भइरहेको रावलले बताए ।
अव कांग्रेसले कस्लाई सहयाग गर्छ ? माओवादी या एसलाई भन्ने प्रश्नमा माथि केन्द्रबाटै टिकट वितरणमा यसको विवाद देखिएकाले यसको समाधान पनि केन्द्रबाटै हुनुपर्ने बताए । केन्द्रले नै तोकेर दुई उमेदवार पठाएको छ, हामी सहमति र सहकार्यको आधारमा यसको डिसिजन गर्छौ । एउटा निर्णयमा नपुगी यो विषयलाई अन्योलमा राख्नु नहुने उनले बताए । यसका लागि छलफल जारी राखेको रावलले बताए । यो निर्णयबाट अव कसरी जाने र कसलाई सहयोग गर्ने भन्ने बारे टुङ्गो लाग्ने र सोही अनुसार चुनावी प्रकृया अगाडि बढ्ने रावलले बताए ।
यता गठबन्धनका साझा उमेदवार आफु रहेको भन्दै नेकपा माओवादी केन्द्रका विकले दावी गरेका छन् । एसका शाहीले पनि आफु साझा उमेदवार भएको दाबी गर्दै आएका छन् । शाहीले गठबन्धनको उमेदवार दाबी गर्दै नेपाली कांग्रेससँगै संयुक्त चुनावी सभामा सम्वोधन गरिरहेका छन् । यता माओवादीका उमेदवार वि.क भने एक्लै आफ्ना कार्यकर्ता लिएर चुनावी अभियानमा लागेको बताइएको छ । यो हेर्दा कांग्रेसले माओवादी भन्दा एसका उम्मेदवार शाहीलाई सहयोग गर्ने आन्तरिक निष्कर्षमा पार्टी पुगेको बताइएको छ ।
फेसबुक स्टाटसमा लेख्दै नेकपा माओवादीका नेता सुरेस बि.कले अपमान गर्ने पद्दतिले सीमा नागेपछि भिरमा गएको गोरुलाई रामराम गर्न सकिन्छ, तर काधमा बोक्न नसकिने बताएका छन् । उनले पनि खबर पोष्टसँग यो समस्याको विषय भएको हुनाले समाधानको खोज गरी निष्कर्ष निकाल्न छलफमा रहेको बताए । यसको परिणाम केही दिनमा थाहा हुने उनले बताएका छन् ।
प्रदेशमा तपाईलाई कांग्रेसले साथ दिएन भने प्रतिनिधिमा तपाई कस्लाई मत दिनुहुन्छ भन्ने प्रश्नमो छोटो उत्तर दिदै उनले भने हामीलाई सहयोग भएन भने हामी पनि कांग्रेसलाई भोट हाल्दैनौँ उनले भने ।
यतिबेला केन्द्रका शीर्ष नेता गठबन्धनलाई जिताउनुपर्छ भन्दै विभिन्न सभा समेलनमा संयुक्त बोलिरहेका छन् । तर बाजुराको गठबन्धनबाट उमेदवार कस्लाई मान्ने भन्ने विषयमा केन्द्रका शीर्षनेता चुपचाप देखिन्छन् । यसको फाईदा नेकपा एमालेलाई हुने देखिन्छ । नेकपा एमालेबाट सो क्षेत्रका बलदेव रेग्मी उमेदवार दोहोरिएका छन् । उनले २०७४ सालको निर्वाचनमा कांग्रेसका नेता जनक गिरिलाई १ हजार ५ सय मतले हराउँदै रेग्मी विजय भएका थिए ।
प्रतिक्रिया दिनुहोस्