काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।
मंगलबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई सोधिएको अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने निर्णय हो । ढकाललाई सोधिएको २४ घण्टे स्पष्टीकरणका बारेमा छलफल गर्दै विधान र राजनीतिक दलसम्बन्धी नियमलाई टेकेर साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा पार्टी सभापति रवि लामिछानले सहकारी छानबिन समितिमा दिएको बयानका बारेमा जानकारी गराएका थिए । समितिमा आफुले दिएको स्पष्टीकरणलाई प्रतिवेदन बनाएर पार्टीको अनुशासन आयोगमा दर्ता गराउने लामिछानले बताएको कार्यवाहक प्रवक्ता झाले बताए ।
बैठकले असोज १ र २ गते काठमाडौंमा आयोजना गरिएको पार्टीको राष्ट्रिय भेलालाई सफल बनाउन बिभिन्न उपसमिति गठन गरिएको उनले जानकारी दिए । राष्ट्रिय भेलामा १४ सय सहभागी हुने रास्वपाले जनाएको छ । त्यस्तै बैठकमा स्थानीय छायाँ सरकारसम्बन्धी कार्यविधीका बारेमा छलफल भएको झाले बताए ।
प्रतिक्रिया दिनुहोस्