काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि नेपालमा दुई दल मात्र भए पुग्ने बताएका छन् ।
तर कांग्रेस एमालेले दुई दलीय व्यवस्थाको वकालत नगरेको उनले स्पष्ट गरे ।
प्रेस चौतारी नेपालले बिहीबार सुर्खेतमा आयोजना गरेको कार्यक्रममा पोखरेलले आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको बताए ।
‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन, मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो । अमेरिकामा सयौं वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ । संसद्को जननी बेलायतमा अरु दल खोल्न नपाइने हो र ? तर दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेको,’ पोखरेलले भने, ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन, बलिया दुई दल भए पुग्छ भनेको हो । मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो ।’
फरक प्रसंगमा महासचिव पोखरेलले सरकारप्रति कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको बताए ।
‘उहाँहरूले बाहिर आएर भनेको सुनेका छौं र ? कथा बनाइयो । कांग्रेसको औपचारिक निर्णय–यो समीकरण कांग्रेसको मेहनतको परिणाम भन्ने छ । महामन्त्रीको सहमतिविपरीत पार्टीको त्यो निर्णय भएको होला ?,’ पत्रकारले सोधेको प्रश्नमा पोखरेलले प्रतिप्रश्न गरे ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले असन्तुष्टि जनाएको भनेर सोधेको प्रश्नलाई पोखरेलले कथा बुनेर समाजलाई दिग्भ्रमित पार्न खोजिएको टिप्पणी गरे ।
‘पार्टीको औपचारिक निर्णय कांग्रेसका महामन्त्रीको सहमतिविपरीत आएको हो ? महामन्त्रीले असहज मानेका छन् भन्ने कुरासँग संगती मिल्दैन,’ पोखरेलले भने ।
उनले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोर्याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।
प्रतिक्रिया दिनुहोस्