काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका हुन् । प्रतिनिधिसभाको बैठकअघि अधिवेशन अन्त्य, प्रधानमन्त्री ओलीको सम्बोधनसहित बैठकको कार्यसूची लगायतका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले दिउँसो सवा १२ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
यसअघि आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक माओवादी केन्द्रका कारण सूचना टाँसेर स्थगित गरिएको थियो । प्रधानमन्त्री ओलीको सम्बोधनपछि संसदको बर्खे अधिवेशन अन्त्य गर्ने तयारी छ । सरकारले बर्खे अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संसदको बर्खे अधिवेशन सोमबार राति १२ बजेपछि लागू हुने गरी अन्त्य गर्नेछन् ।
प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले छानबिन प्रतिवेदन पेस गर्ने, प्रधानमन्त्री ओलीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७९/८० पेस गर्नेलगायतका विषय सम्भावित कार्यसूचीमा छन् ।
प्रतिक्रिया दिनुहोस्