Ads

अदालतको फैसला कुर्न अनुसन्धानमा सघाउन, रास्वपालाई विश्वप्रकाशको सुझाव


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्तालाई सडकमा विलाप नगर्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले अदालतको फैसला कुर्न र अनुसन्धानमा सघाउन आग्रह गर्दै सडक विलाप नगर्न सुझाव दिएका हुन् । उनले रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदनले प्रचलित कानुन बमोजिम कार्वाही गर्नु भन्ने सिफारिस गरेको उल्लेख गर्दै प्रक्रिया शुरु भएपछि राजनीतिक प्रतिशोध’ भन्नू संसदीय समिति र संसदकै अपमान भएको बताए ।

उनले भनेका छन्- “काँग्रेसका दुई चार, एमालेका दुई चार, माओवादी, राप्रपा र रास्वपाका दुई चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौं । अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं । सडक विलापको जगहँसाई नगरौं । स्पष्ट हौं, दोषीलाई कार्वाही र बचतकर्ताको रकम फिर्ता, आजको राष्ट्रिय आवश्यकता हो !

रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ-`प्रचलित कानुन बमोजिम कार्वाही गर्नु ।´ तर प्रक्रिया शुरुभएपछि- `राजनीतिक प्रतिशोध´ भन्नू संसदीय समिति र संसदकै अपमान होइन र ? प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम-प्रयास वैकल्पिक राजनीति ? कि विधि उपरसमेतको ठगी ?

`अन्धभक्तहरुले न पार्टी सुधार्न सक्छन् न देश बनाउन´ एक मित्रको अभिव्यक्ति सम्झन्छु । निश्चय नै `लोभ र डर´ले जब कसैको इमानदार विवेक ध्वस्त बनाउँछ, तब उसले उत्तेजना भर्न र भ्रम छर्न मात्र सक्छ । मेसिनबाट मान्छेमा फर्किँदासम्म समाजले उसलाई चिनिसकेको र समयले छोडिसकेको हुन्छ !”

Ads

सम्बन्धित पोष्टहरू