Ads

रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै


काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै छ ।

विभिन्न पाँच सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा कात्तिक २ गते काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम ठगीसँग सम्बन्धित रहेर अनुसन्धान गर्न थप बयानका लागि लामिछानेलाई आज बिहान ८ः४० बजे बुद्ध एयरमार्फत पोखराबाट काठमाडौं ल्याउन लागिएको हो ।

लामिछानेको पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएको प्रहरीले जनाएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंसिर २ गते लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको आरोपमा गोर्खा मिडियाका पूर्वसञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । जोशीको यसअघि नै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिइसकिएको छ ।

कास्की जिल्ला अदालतले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कास्कीमा लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई फेरि कास्की नै लगिने छ । लामिछाने लगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । त्यसपछि उनलाई बयानका लागि चितवन लैजाने प्रहरीको तयारी छ ।

Ads

सम्बन्धित पोष्टहरू