ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले मतान्तर बढाएकी छन् । सहरी क्षेत्रको मतगणना सुरु भएसँगै ललितपुर क्षेत्र नम्बर ३ मा डा. कार्की अग्रता बढाएकी हुन ।
चक्रपथ बाहिरका बस्तीको मत गन्दा एमालेका उम्मेदवार अमृत खड्काले अग्रता लिएका थिए । सहरी क्षेत्र र नयाँ बस्तीको मतगणना सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. कार्की अग्रस्थनमा पुगेकी छन् ।
ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकना र वडा नम्बर २२ को बुङ्मती क्षेत्रबाट मतगणना सुरु भएको थियो । स्थानीय चुनावमा यी दुवै वडामा माओवादी केन्द्रले जित हात पारेको थियो । तर सात महिनाअघि आफैंले जितेको वडामा पनि माओवादीले धेरै मत पाउन सकेन ।
सोमबार साँझसम्म सार्वजनिक मत परिणामअनुसार ५ हजार ८६८ मत गणना हुँदा डा. कार्किले २ हजार १४८ मत पाइन् भने एमालेका खड्काले १ हजार ९०५ र माओवादी केन्द्रकी पम्फा भुसालले एक हजार १९८ मत पाएकी छन् ।
ललितपुरको खोकनामा माओवादीका रवीन्द्र महर्जनले वडाध्यक्षमा विजयी हुँदा १ हजार २०० बढी मत ल्याएका थिए । खोकना र बुङ्मतीका एक–एक मतदान केन्द्रको मतगणना भइसक्दा पनि पनि भुसालले २ हजार मत कटाउन सकेकी छैनन् ।
ललितपुर वडा नम्बर २१ र २२ बाट मतगणना सुरु हुँदा डा. कार्कीले खड्कालाई पछ्याइरहेकी थिइन् । तर सहरी क्षेत्रको मतगणना सुरु भएसँगै कार्कीको मतान्तर बढेको छ । ललितपुर–३ मा ललितपुर महानगरपालिकाका १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ वडा पर्छन् ।
ललितपुर–३ का निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार यतिखेर खोकना र बुङ्मतीका एक–एक मतदान केन्द्रको गणना सकिएको छ । खोकनामा दुई र बुङ्मतीमा दुई मतदान केन्द्र थिए । यससँगै ललितपुर महानगरपालिकाको २४ नम्बर वडामा पर्ने धापाखेल, वडा नम्बर १८ भैंसेपाटी र वडा नम्बर २५ सैंबुको मतगणना भइरहेको छ । धापाखेल थोरै पुरानो बस्ती र अधिकांश नयाँ बस्ती भएको क्षेत्र हो । यो वडामा चारवटा मतदान केन्द्र छन् । त्यसैगरी भैंसेपाटी डा. कार्कीको बसोबास भएको क्षेत्र हो ।
प्रतिक्रिया दिनुहोस्