काठमाडौं,। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले उठाएको मुद्दा नेपालीको साझा मुद्दा भएको बताएका छन्। संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित राप्रपाले आज काठमाडौंको बल्खुमा गर्न लागेको सभामा सहभागी हुन आग्रह गर्दै उनले देश बचाउने साझा मुद्दा अगाडि सारेको बताएका हुन्।
उनले कतिलाई दलीय बन्धनले अलि असजिलो लागेपनि राप्रपाले उठाएको मुद्दा कुनै एउटा पार्टीको मुद्दा मात्र नभएको दाबी गरेका हुन्। ‘प्रियजन तपाईँहरूमध्ये कतिलाई दलीय बन्धनले अलि असजिलो लाग्न सक्छ, हाम्रो कुरा अनौठो लाग्न सक्छ।’ लिङ्देनले भने, ‘तर राप्रपाले उठाएको मुद्दा कुनै एउटा पार्टीको मुद्दा मात्र होइन देश बचाउने र बनाउने हामी नेपालीको साझा मुद्दा हो। ऐक्यबद्धता व्यक्त गर्न आज बल्खु आउनुहोस् है !’
चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक भएकोतर्फ संकेत गर्दै अध्यक्ष लिङ्देनले बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिए। उनले मंगलबार ९ बजेबाटै कार्यक्रम स्थल स्वयंसेवकको नियन्त्रणमा हुने भन्दै राज्यपक्ष वा कसैबाट घुसपैठ र हिंसा भड्काउने प्रयास भए ठाउँको ठाउँ कारबाहीको व्यवस्था मिलाइएको बताए।
राप्रपा हिंसामा विश्वास नगर्ने भएकाले आफ्नो पार्टीले गर्ने प्रदर्शन शान्तिपूर्ण हुने उनको भनाइ छ। राप्रपाको मंगलबारको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन्।राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले ११ बजेदेखि जुलुस सुरु गरेर १२ बजेदेखि सभा सुरु गर्ने तयारी गरेको बताए। उनले बागमती प्रदेशस्तरीय सभा भएकाले बागमती प्रदेशका जिल्लाबाट कार्यकर्ताहरू सहभागी हुने उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस्