नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ वर्ष आरम्भसँगै सरकार परिवर्तन हुने हल्ला आजबाट अन्त्य भएको बताएका छन् ।
अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी बन्न अपिल समेत गरेका छन् ।
मंगलबार बालुवाटारमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेट भएपछि पोखरेलले सामाजिक सञ्जालमा ‘उत्साहपूर्ण’ स्टेटस लेखेका हुन् ।
उनले स्वास्थ्य क्षेत्रका मुख्य समस्या र त्यसको समाधान भन्दै केही बुँदा पनि लेखेका छन् । जसमा स्वास्थ्य पूर्वाधार तथा जनशक्तिको अभाव र असमान वितरण, स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा गम्भीर समस्या र निरोगी नेपालको अवधारणा कार्यान्वयनमा चुनौतीलाई मुख्य समस्यामा रूपमा उल्लेख गरेका छन् ।
स्वास्थ्य क्षेत्रको सुधारका मुख्य विषय भन्दै पोखरेलले योजना अनुरूप पूर्वाधार विकास र सुदृढीकरण, स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकास र सन्तुलित वितरण (ग्रामीण क्षेत्रमा काम गर्ने जनशक्तिलाई विशेष प्रोत्साहन), स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन (यसमा सबै अनुदानलाई बीमा कार्यक्रमसँग जोडेर बीमाको दायराको विस्तार । गरिब र जेष्ठ नागरिकलाई नि:शुल्क बिमाको सुनिश्चितता) गर्नुपर्ने उल्लेख गरेका छन् ।
यसैगरी, सूचना प्रविधिको प्रयोगद्वारा ग्रामीण क्षेत्रमा टेलिमेडिसिनको विस्तार र निरोगी नेपाल निर्माणका लागि स्वास्थ्य, शिक्षा र स्वच्छ आहार विहारको प्रवर्द्धन गर्नुपर्ने पोखरेलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्